तपाईँ सुन्दै हुनुहुन्छः

महानिर्देशक कर्णसहित १३ जना विरुद्ध आरोपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारवटा प्रयोगशाला मोबाइल भ्यान खरीदमा भ्रष्टाचार गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण सहित १३ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि खरिद गरिएका चारथान प्रयोगशाला मोबाइल भ्यानको भुक्तानी दिँदा करिव २४ करोड ८० लाख रुपियाँ हिनामिना गरेको आरोपमा निजहरुविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्ण सहित बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम र शाखा अधिकृत भागिरथ आचार्य विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगबाट आज जारिएको प्रेस–विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई, खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल तथा प्रुडेन्ट मेडिटेक इन्टरनेशनलका प्रतिनिधि प्रविण कुँवरविरुद्ध भ्रष्टारको आरोपमा आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button