तपाईँ सुन्दै हुनुहुन्छः

विपत् व्यवस्थापनको पूर्वतयारी शुरु

दमौली-जिल्ला विपत् व्यवस्थापन समिति तनहुँले मनसुनको समयमा हुनसक्ने सम्भावित विपत् व्यवस्थापनका लागि तयारी शुरु गरेको छ । मनसुन शुरु हुन थालिसकेकाले बाढीपहिरोबाट पूर्वाधार तथा भौतिक सम्पत्तिमा क्षति हुनसक्ने भएकाले समितिले विपत् व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले वर्षात्को समयमा राजमार्गमा अवरोध आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सडक डिभिजन कार्यालय दमौली र यान्त्रिक कार्यालय डुम्रेलाई आपसी समन्वयका साथ रणनीतिक स्थानमा आवश्यक उपकरणसहितको टोली तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ, कृष्णदल गण चापाघाट ब्यारेक नं ३ जगदल गण डुम्रे ब्यारेक तथा सशस्त्र प्रहरी बल नं २३ गण मनकामना तनहुँलाई विपत् परेको अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी टोली तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

बैठकले विपत् प्रतिकार्य योजना २०७६ अनुसार सबै निकायहरु सम्भावित विपत्को अवस्थामा तत्काल क्लष्टरअनुसार परिचालन हुनसक्ने अवस्थामा रहने व्यवस्था मिलाउन, जिल्ला स्वास्थ्य कार्यालय, दमौली अस्पताल तथा स्थानीय तहमा मनसुनको समयमा हुनसक्ने सम्भावित महामारीलाई दृष्टिगत गरी स्वास्थ्यकर्मीसहितको टोली तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सहायक प्रजिअ पौडेलका अनुसार सम्भावित विपत् पर्दा खटिनुपर्ने राष्ट्रसेवकलाई आवश्यक अवस्थामा बाहेक बिदा नबस्न, बस्नै परेमा आलोपालो गरी सम्भावित कार्यमा बाधा नहुने गरी मात्र बस्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

नेपाली सेना नं १ विपत् व्यवस्थापन गणका शिक्षकहरुबाट समुदायका २४ सदस्यलाई विपत्सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले समुदायमा आधारित विपत् सचेतना तालीम सञ्चालन गर्ने गरी नेपाली सेना कृष्णदल गणले सहजीकरण गर्ने र तालीमको व्यवस्थापन गर्न व्यास नगरपालिकालाई अनुरोध गरिएको छ ।

बैठकले सबै स्थानीय तहलाई स्थानीय विपत् व्यवस्थापन समिति गठन र स्थानीय विपत् व्यवस्थापन कोष स्थापनाका लागि पुनः अनुरोध गर्ने निर्णय गरेको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पण्डितले जिल्लामा आइपर्ने विपत्का घटनामा सरोकारवाला सबैको महत्वपूर्ण भूमिका रहने भएकाले आपसी समन्वयका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलगायत सुरक्षा निकायका प्रमुख एवं सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button