तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

मेलम्ची-मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।

सरकारले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो । तर स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सञ्चालन गर्नुपर्ने नत्र अवरोध हुने चेतावनी दिएपछि श्रेष्ठ कन्ट्रक्सनका मानिस फर्केको स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताउनुभयो ।

इटालेली कम्पनी सिएमसीले रकम नदिएर भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । स्थानीयवासीलगायत निर्माण व्यावसायीहरु डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनरत छन् ।

आफूहरुले सरकारसँग रकम नमागेको भन्दै आयोजना छिटो शुरु गर्न पहल होस् भन्ने आफूहरुको माग भएको उहाँले बताउनुभयो । हाम्रो रकम भुक्तानी नदिएसम्म काम चल्न नदिने जानकारी सरोकारवालाहरुले यसअघिदेखि नै दिँदै आएका छन् ।

यता स्थानीय सरकारले पनि स्थानीय समस्या समाधान नगरी मेलम्ची लाने सपना नदेख्न खुलेर चेतावनी दिँदै आएको छ । खानेपानी आयोजनाको काम शुरु गर्न पहल गरिदिन आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button