तपाईँ सुन्दै हुनुहुन्छः

सिप छ, बजार छैन

तनहुँ, ३ असार । स्थानीय तहको निर्वाचनपछि गाउँका टोल टोलमा महिलाहरुलाई लक्षित गरेर सिपमुलक तालिम सञ्चालन हुन थालेका छन् । महिलालाई सिप सिकाएर क्षमता अभिवृद्धि गरी आर्थिक उपार्जनमा जोड्ने उदेश्यले तनहुँको शुक्लागण्डकी नगरपालिमामा यस्ता तालिमहरु तुलानात्मक रुपमा बढी हुने गरेको छ ।
नगरको वडा नं. ११ मा महिलाको आर्थिक विकासका लागि सिपमुलक तालीम पुग्यो, सामान उत्पादन भए तर विक्री गर्ने बजार नहुँदा यहाँका महिलाहरु समस्यामा पर्न थालेका छन् । नगर र घरेलु तथा साना उद्योगले गत जेष्ठ महिनामा जेरेबरमा सञ्चालन गरेको क्रिष्टल सम्वन्धी तालीम लिएका महिलाहरुले सामान उत्पादन भएता पनि बजार नपाउँदा समस्या भएको गुनासो गरे ।
“व्यबसायिक रुपमा उत्पादन गर्नका लागि बजारको अभाव हुने भयो” स्थानीय सावित्री सिग्देलले भन्नुभयो । “धेरै उत्पादन गर्न सकिदैन, थोरै सामान उत्पादन गर्दा कहाँ लगेर बेच्ने ? बजारमा सस्तो मुल्यमा खोज्छन् । हाम्रा लगानी पनि नउठ्ने भएपछि सिप सिकेर पनि व्यबसाय गर्ने सोच छैन ।”
उनीहरुले अहिले घरमा नै बसेर चुरा पोते, माला लगायतका आकर्षक सामानहरु बनाउन थालेका छन् । बजारमा विक्री नभएपछि उत्पादन भएको सामान आफन्त, छिमेकी र साथीसँगीलाई अनुरोध गरेर विक्री गर्नु परेको बाँध्यता रहेको तालीम लिएका महिलाहरुको गुनासो छ ।
तालीम लिएर सामान उत्पादन भएता पनि विक्री गर्न बजार नपाएपछि सामान थन्काएर राख्नुपरेको मिना भुजेल बताउनुहुन्छ । “कतै विक्री होला जस्तो लागेन बनाएर राखेका छौँ, कतै चाहिएको छ र ?” उहाँले प्रश्न गर्दै भन्नुभयो “पोखराबाट सामान ल्याउदा र परेको मुल्य भाडा जोड्दा एउटा ३ सय मा विक्री गर्नुपर्छ, कसैले किन्दैनन् ।”
नगरपालिकाकी कार्यपालिका सदस्य सानुमाया महतले पनि सिप सिकाएर बजारको ग्यारेन्टी गर्नसके मात्र सिप विकासका लागि सञ्चालन हुने तालिमहरु प्रभावकारी बन्न सक्ने बताउनुहुन्छ । उहाँले, बजार नभएकै कारण दक्ष जनशक्तिले कामप्रति चासो नदिने गरेको बताउनुभयो ।
वडा नं. ११ का वडाध्यक्ष दलबहादुर थापाले वडामा यस वर्ष ७÷८ वटा सिप विकास सम्वन्धि तालीम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले तालिम लिएर व्यवसायिक रुपमा लाग्नेहरुको सामान विक्रीका लागि भने वडासँग कुनै योजना नभएको भन्दै धेरै उत्पादन भएको खण्डमा बजार खोज्नका लागि पहल गरिने बताउनु्भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button