तपाईँ सुन्दै हुनुहुन्छः

बिवाह गरी आएकी युवती खोज्न ३ भारतीय प्रहरी अछाममा

अछाम-भारतमा काम गर्दै आएका अछामका केशव टमट्टासँग भागी विवाह गरी अछाम आइपुगेकी भारतको छतिसगढ राज्यअन्तर्गत कोबरा जिल्लाको किशोरीलाई फर्काउन भारतीय प्रहरी अछाम आई पुगेका छन् । भारतीय प्रहरी अफिसर अशोक पाण्डे (नेपाली असई सरह) को नेतृत्वमा सादा पोशाकमा रहेका ३ जना प्रहरीसहित ४ जनाको टोली अछाम पुगेको हो । त्यसरी आउने अन्य भारतीय प्रहरीमा हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल रहेका छन ।

अछामको बान्नीगढी जयगड गाउँपालिका–६ दर्नाका १९ वर्षीय केशवले करिव १६ वर्षीय काजोल राठोरलाई भगाएर दुई महिनाअघि अछाम (घर) ल्याएका थिए । ती किशोरीलाई लिन ३ जना प्रहरीसहित ४ जनाको टोली आइतबार अछाम आइपुगेको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउँदले जानकारी दिनुभयो ।

भारतीय प्रहरी टमट्टाको घर पुगेर दुवै जनालाई भारत लैजान खोजेपछि स्थानीय प्रहरी र वडाध्यक्षको पहलमा न्यायिक समितिमा उजुरी पुगेको उपाध्यक्ष साउदले जानकारी दिनुभयो ।

टमट्टा केही वर्षदेखि छतिसगढमा काम गर्दै आएका थिए । भारतीय प्रहरी टोलीले किशोरीकी आमाले दिएको उजुरी पनि देखाएका न्यायिक समितिका संयोजकसमेत रहेका साउँदले बताउनु भयो । बिना अनुमति अछाम पुगेका भारतीय प्रहरीलाई समन्वयात्मक रुपमा सुधपुछ र जानकारी लिने काम भएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कलेन्द्रबिक्रम शाहीले नेपालीसँग भागेर आएकी युवतीको खोजीका लागि भारतीय प्रहरी टोली अछाम आईपुगेको बताउनु भयो । विवाहका लागि दुवैको उमेर नपुगेकाले किशोरीले चाहेमा भारतीय प्रहरीको जिम्मा लगाइने उनले बताउनु भयो । सादा पोशाकमा रहेको भारतीय प्रहरी टोलीसँग हातहतियार भने नरहेको प्रहरी निरीक्षक शाहीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button