तपाईँ सुन्दै हुनुहुन्छः

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आईतबारउद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय अर्थतन्त्रमा आवश्यक प्रविधिमा सघाउँदै विश्वविद्यालयले विकसित मुलुकमा झैँ शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वविद्यालयहरु ज्ञान र अनुसन्धानका आधारमा अगाडि बढ्नुपर्छ । अहिलेको विश्वविद्यालय शिक्षामा अन्तर्राष्ट्रियकरण अपरिहार्य भएको छ । यस दिशामा त्रिभुवन विश्वविद्यालय अग्रसर हुनुपर्छ ।”

शान्ति र सहिष्णुका अग्रदूत गौतम बुद्धको जन्मस्थल रहेको नेपालमा प्राचीनकालदेखि नयाँ खोज र चिन्तनको परम्परा रहेकाले वर्तमान समयमा शिक्षित र चेनतनशील समुदाय थप नवप्रवर्तनका लागि लाग्नुपर्ने जनाउँदै उहाँले विश्वमा विज्ञान र प्रविधिले भूमण्डलीकरणमार्फत विश्वलाई ग्राममा रुपान्तरण गरेको सन्दर्भमा लोककल्याणकारी न्यायोजित मानव समाज निर्माणका लागि उच्चशिक्षाले दिशानिर्देश गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा जाने क्रमले अन्तरविषयक ज्ञान र बहुसांस्कृतिक अनुभव एवं अनुसन्धानका लागि सामयिक हुने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले विश्वविद्यालयको इतिहासमा यो सम्मेलन नयाँ कोसेढुङ्गा सावित हुने बताउँदै परिवर्तित सन्दर्भमा उच्चशिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आफूहरुले नीतिगत सुधार गरेको जानकारी दिनुभयो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. भीमप्रसाद सुवेदी अनुसन्धानमुखी र गुणस्तरीय उच्च शिक्षाका लागि आयोगले सघाउँदै आएको बताउनुभयो । शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले उपयुक्त पाठ्यक्रम, अनुसन्धान र व्यवस्थापनको संयोजनले मात्रै विश्वविद्यालय शिक्षा गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको हुने बताउनुभयो ।

नेपालसहित विभिन्न सात मुलुकका विज्ञहरुको कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा उच्च शिक्षाका पाठ्यक्रम र अध्यापक शास्त्र, अनुसन्धान र नवप्रवर्तन तथा उद्यमीकरण र व्यवस्थापन आदिबारे अनुभव आदान–प्रदान हुनेछ ।

R

प्रतिक्रिया राख्नुहोस्

Back to top button