तपाईँ सुन्दै हुनुहुन्छः

अझै जातीय भेदभाव तथा छुवाछूत

पाल्पा (रासस)-राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताउनुभएको छ । दोस्रोमा ६ नम्बर, तेस्रोमा सात र पाँच नम्बर प्रदेशमा जातीय भेदभाव तथा छुवाछूत घटना रहेको सदस्य वस्तीले बताउनुभयो ।

आयोगले आयोजना गरेको जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार विषयक अन्तक्र्रियामा वस्तीले दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतका घटना नरोकिएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले कानूनका दृष्टिले सबै समान रहेको बताउँदै समाजमा छुवाछूत व्याप्त रहेको बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की भन्नुहुन्छ, “जातीय छुवाछूतजस्तो समस्यालाई न्यूनीकरणका लागि पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।” बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले २१ औँ शताब्दीमा जातीय छुवाछूतसम्बन्धी कुरा गर्न बाध्य हुुनुपरेको बताउनुभयो ।

उहाँले नेपालको संविधानमा दलित, महिला र अपाङ्गमैत्री बने पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रकुमार यादवले प्रहरी प्रमुख विश्वमणि पोखरेलले जातीय छुवाछूतका घटना जनचेतनाको कमीकै कारण नभएको बताउनुभयो ।

आयोग प्रदेश नम्बर ५ का निर्देशक सम्झना शर्माले जातीय छुवाछूतको विधि र शैली मात्र फरक भएको बताउनुभयो । कार्यक्रममा दलित अधिकारकर्मी, प्राध्यापक, वृद्धिजीवी तथा पत्रकारले जातीय छुवाछूत अन्त्यका लागि दलित समुदायको आर्थिक, शैक्षिक, सामाजिक–सांस्कृतिकलगायतका क्षेत्रमा उत्थानका लागि विशेष कार्यक्रम सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । पाल्पामा विद्यालय, मन्दिर, कुवा धारा, तथा मेलापात, प्रेम विवाह जातीय आधारमा छुवाछूत रहेको बताइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button