तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्ता भएका व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित

अमरगढी-पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कूल सङ्ख्याको आधाभन्दा बढी परिचयपत्र पाउनबाट बञ्चित रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

विसं २०६८ को जनगणनाअनुसार डडेल्धुरामा पाँच हजार १५० अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराले जनाएको छ । जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराका अध्यक्ष गणेशप्रसाद अवस्थीका अनुसार जसमध्ये हालसम्म दुई हजार ५०० ले अपाङ्गता परिचयपत्र पाएका छन् ।

अझै दुई हजार ६५० ले परिचयपत्र पाउन नसकेको उहाँले जानकारी दिनुभयो । पछिल्लो दुई वर्षयतादेखि अपाङ्गता परिचयपत्र वितरण हुनसकेको छैन । अपाङ्गता भएका व्यक्तिले परिचयपत्र नपाउँदा राज्यबाट प्रदान भएका विभिन्न सेवासुविधाबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेको अध्यक्ष अवस्थीको भनाइ छ ।

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था अरुको भन्दा नाजुक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपाङ्गता भएका व्यक्तिको हकअधिकार सुनिश्चित गर्न र उनीहरुको अवस्थालाई सुधार गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

विसं २०६८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा शारीरिक, दृष्टि, बहिरा, मानसिक, बोलाइ, श्रवण दृष्टिविहीन र बहुअपाङ्गता गरी ६७ हजार ८३० अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा १५ हजार ३७८ अपाङ्गता भएका व्यक्ति छन् ।

कञ्चनपुरमा नौ हजार ७०, अछाममा आठ हजार ६०२, बैतडीमा सात हजार ७८८, डडेल्धुरामा पाँच हजार १५०, दार्चुलामा तीन हजार ६६९, डोटीमा सात हजार ३०२, बझाङमा चार हजार ९७६ र बाजुरामा पाँच हजार ८९५ अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button