तपाईँ सुन्दै हुनुहुन्छः

लेखा परीक्षणलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक:अर्थमन्त्री खतिवडा

काठमाडौ-अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको सहकारी तथा गैह्र सरकारी क्षेत्रको लेखा परीक्षणलाई चुस्त र प्रभावकारी बनाउन लेखा परीक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । नेपाल अडिटर्स एशोसियसन अडानको पाँचौ राष्ट्रिय महाधिवेशनको शुक्रवार काठमाण्डौमा उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले लोकतन्त्रलाई जवाफदेही बनाउन र सरकारप्रतिको अविश्वास घटाउन पनि लेखापरीक्षण पारदर्शी तथा जवाफदेही हुनु पर्नेमा जोड दिनु भयो ।

अर्थमन्त्री खतिवडाले तीन तहका सरकार गठन भएसंगै लेखापरीक्षणमा जोखिम बढेकोले लेखापरीक्षकहरुले व्यवसायिक मर्यादा,निष्ठा,पारदर्शीता एवं विश्वसनीयतामा ध्यान दिनु आवश्यक भएको बताउनु भयो । कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्माले मुलुकमा वित्तीय अनुशासनहिनता बढेको, सेवाप्रवाहमा कमि भएकोले लेखा परीक्षकहरुले मुलुकमा व्याप्त भ्रष्टाचार कम गर्न मद्धत गर्नु पर्ने बताउनु भयो ।

उहाँले लेखापरीक्षकहरुलाई व्यवसयिक मर्यादा कायम राख्न र अनिमितता हुन नदिन विशेष सर्तकता अपनाउन सुझाव दिनु भयो ।नेपाल चार्टर्ड एकाउन्टेण्ट संस्था आइक्यानका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले लेखा परीक्षणका क्षेत्रमा दिनप्रतिदिन चुनौतीहरु थपिदै गएकोले व्यवसायिक आचारसंहिताको पालना मार्फत नै पेशागत चुनौतीहरु घटाउन सकिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा अडानका संस्थापक अध्यक्ष,कमलराज रेग्मी, बर्तमान अध्यक्ष मोहनराज रेग्मी लगायतले लेखा परीक्षण व्यवसायलाई थप मर्यादित बनाउन आवश्यक तालि र प्रविधिको उपयोगमा जोड दिनु पर्ने बताउनु भयो ।देशभरबाट ५ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको दुई दिने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button