तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्धिको यात्रामा धैर्य र साहसका साथ जागरुक हुन आवश्यक’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य र साहसका साथ जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताउनुभएको छ ।

बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाँैडामा मानवअधिकारका लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत हुने उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले मौलिक हकको रुपमा संविधानमै असहाय र एकल महिलाका लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको पनि बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले समाजमा भेदभाव टुङ्गिए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताउनुुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एकल महिलाको हक अधिकार र सम्मानका लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई सङ्गठित गर्न सफल भएको बताउनुभयो ।

समूहकी अध्यक्ष कुन्ता शर्माले एकल महिलालाई धर्म र संस्कृतिको जन्जिरमा बाँध्ने काम हँुदै आएकाले सबैको प्रयासमा यस खालका कुरीतिलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button