तपाईँ सुन्दै हुनुहुन्छः

विपत्लाई अवसरको रुपमा प्रयोग : सिईओ ज्ञवाली

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपत्लाई अवसरको रूपमा प्रयोग गरेको बताउनुभएको छ । उहाँले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई जोड दिएको समेत जानकारी दिनुभयो ।

विश्व सम्पदा क्षेत्र संरक्षण तथा विकास कार्य र पम्परागत सम्पदा बस्ती पुनःनिर्माण कार्यक्रमसम्बन्धी बिहीबार साँझ भक्तपुर नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गर्दै निर्देशक ज्ञवालीले विविध कारणले काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्र पुनःनिर्माण कार्यमा ढिलाइ भइरहेको बताउनुभयो ।

उहाँले परामर्शदाता जिम्मेवार व्यक्ति भएकाले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न जोड दिँदै प्राधिकरणको काममा सबै निकायले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने आशा व्यक्त गर्नुभयो । सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत बनेका सम्पदा गुणस्तरीय हुने र स्थानीय जनताको अपनत्व रहने बताउँदै सम्पदा र भौतिक निर्माण उपभोक्ता समितिमार्फत गर्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्पमा भत्केका भक्तपुरका केही सम्पदा निर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणकै क्रममा रहेको जानकारी दिँदै प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिएको खण्डमा पुनःनिर्माणको काम छिटो हुने बताउनुभयो । प्रमुख प्रजापतिले सम्पदा निर्माणमा राज्यले आवश्यक काठ उपलब्ध गराउनुपर्ने, बजेटको बन्दोबस्त गर्नुपर्ने र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिँदै सांस्कृतिक सम्पदा मौलिक स्वरुपमा पुनःनिर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको आयोजनामा भएको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदा पुनःनिर्माण गर्दा अनुसन्धान र मौलिक शैलीलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको पनि उहाँले जानकारी दिनुभयो ।

सांस्कृतिक सम्पदास्थलमा देखिएको दृश्य प्रदुषण हटाउनको लागि अव्यवस्थित तार भूमिगत गर्नुपर्ने र मूर्त–अमूर्त सम्पदा संरक्षणमा प्राधिकरणको ध्यान जान आवश्यक भएको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका चन्द्रबहादुर श्रेष्ठ र उपत्यकाका विभिन्न सांस्कृतिक क्षेत्रका परामर्शदाताले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button