तपाईँ सुन्दै हुनुहुन्छः

प्राथमिकताका आधारमा बजेट निर्माण गर्न निर्देशन

अर्जुन श्रेष्ठ । प्रतिनिधि सभाको अर्थ समितिले आर्थिक वर्ष २०७६–०७७ को बजेटमा अर्थ समितिको प्रारम्भिक प्रतिवेदनको सिद्धान्त र प्राथमिकताका आधारमा बजेट निर्माण गर्न निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले बजेट निर्माणमा ७ वटै प्रदेशसहित १० वटा प्रमुख सहरमा गरेको बजेट पूर्वको छलफलपछि ३ वटा उपसमितिले संयुक्त रुपमा तयार गरेको प्रतिवेदनको सुझावहरु ग्रहण गर्न निर्देशन दिएको हो ।

बैठकमा समिति सदस्य एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक रुपमा भन्दा आर्थिक समृद्धि उन्मुख बजेट निर्माण गर्न र सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय आवश्यक रहेको बताउनुुभयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक खरिद ऐनले समयको भन्दा न्युनतम लागत मात्र हेर्ने विषयले आयोजनाहरु प्रभावकारी बन्न नसकेको विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बजेट निर्माणलाई प्रभावकारी बनाउन धेरै विषयमा स्पष्टता आवश्यक रहेको स्वीकार गर्नुभयो ।

उहाँले सार्वजनिक खरिद ऐन, परियोजना बैंक, योजना निर्माण मास्टर प्लान स्पष्ट र प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

समिति सदस्यहरुको प्रश्नको जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार भूगोल, जनसंख्या र आवश्यकताको आधारमा न्यायोचित ढंगबाट बजेट निर्माण गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले बजेट निर्माणमा समितिको सुझाव सहयोगी भएको भन्दै सार्वजनिक खरिद ऐन संशोधनको क्रममा रहेको, आयोजना र कार्यक्रमहरु ३ वटै सरकारको क्षेत्र निर्धारणका आधारमा बजेट तयारी भइरहेको जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button