तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठकमा तीन विधेयक प्रस्तुत

तुलसी सापकोटा । राष्ट्रिय सभाको आजको बैठकमा ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध व्यवस्थापन गर्ने विधेयक, २०७५’, ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ तथा ‘प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रस्तुत भएका छन् ।

बैठकमा संघ, प्रदेश र स्थानयि तह व्यवस्थापन विधेयकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नु भएको थियो ।

शिक्षामन्त्री पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पनि प्रस्तुत गर्नुभयो ।

त्यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो ।

बैठकको शुरुमा शुन्य तथा विशेष समयमा सांसदहरुले समसामयिक राजनीतिक विषयमा सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकको अन्त्यमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी बैठकमा आउँदो बजेटलाई लक्षित गरी पूर्ब बजेट छलफल हुने जानकारी गराउनु भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक बैशाख २७ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button