तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरी प्रभावितको घर निर्माण शुरु

ध्रुव अधिकारी, वीरगञ्ज । गत चैत १७ गते आँधीबेहरी सहित आएको हावाहुरीले घरवार बिहिन भएका बारा, पर्साका प्रभावितहरुको घर निर्माण कार्य आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियाका इजहार मियाँको घर निर्माण कार्यको शिलान्यास गर्दै सरकारले वर्षायाम अगाडी नै प्रभावितहरुको घर निर्माण गर्ने प्रतिबद्धता ब्यक्तगर्नुभयो ।

उपप्रधानमन्त्रि पोखरेलले नेपाल सरकारले हावाहुरीबाट प्रभावितहरुलाई तत्कालका लागि आवास निर्माणको काम सुरु गरेकोे बताउनुभयो ।

नेपाली सेनाले वर्षा अगावै घर निर्माण सम्पन्न गर्ने गरी बारामा एक हजार ३ सय ६२ तथा पर्सामा ९१ गरि एक हजार ४ सय ५३ घर निर्माण गर्ने नेपाली सेनाका सहायक रथी एवं् प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

बारा र पर्साका विभिन्न १२ स्थानमा आजबाट एकैसाथ घर निर्माण कार्य सुरु भएको छ ।

छुट्टाछुट्टै ठाउँमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा दुई जना उपप्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुको सहभागीता रहेकोे थियो ।

प्रभावितहरुको घर निर्माण कार्यक्रम अन्र्तगत पर्साको उदयपुर घुर्मीमा आयोजित शिलान्यास समारोहमा उपप्रधानमन्त्री एंव् स्वास्थ्य मन्त्रि उपेन्द्र यादवले प्रभावितहरुलाई तत्काल पुनस्थापनका लागि घर निर्माण कार्यको सुरुवात गरिएको बताउनुभयो ।

त्यसैगरी, गृहमन्त्रि रामबहादुर थापाले बाराको प्रसौनी गाउँपालिका–४ खुटवाजब्दीमा घर निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो भने ऊर्जा तथा जलस्रोत सिंचाइमन्त्री वर्षमान पुनले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–२२ जगरनाथपुरमा, खानेपानी मन्त्री विना थापामगरले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ चैनपुरमा घर निर्माण कार्यको शिलान्यास गर्नुभयो ।

त्यसैगरी संघीय मामिला तथा समान्य प्रशासनमन्त्रि लालबाबु पंडितले बाराको पचरौता नगरपालिका वडा नम्बर–७ बेनौलीमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रघुविर महासेठले बाराकै सूर्वण गाउँपालिका–४ हर्दियामा, भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रि पद्यम कुमारी अर्यालले महागढीमाई नगरपालिका–७ तेलगाईमा प्रभावितहरुको घर निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो ।

यसैगरी शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाराको फेटा गाउँपालिका वडा नम्बर–१ भरवलियामा, प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतले बाराको देवताल गाउँपालिका वडा नम्बर–७ रमपूर्वामा प्रभावितहरुको घर निर्माण कार्यको शिलान्यस गर्नुभयो ।

गएको चैत १७ गते आएको हावाहुरीमा परेर २९ जनाको मृत्यु हुनुका साथै छ सय भन्दा बढी घाईते र १४ सय ५३ घर पूर्ण रुपमा ध्वस्त भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button