तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय मजदुर दिवस मनाईयो

पुष्करराज बुढाथोकी । १ सय ३० औ अन्तर्राष्ट्रिय मजदुर दिवस आज नेपालका पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ ।

दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नम्बर २ द्धारा पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएकोे बताउनुभयो ।

उप सभापति गच्छदारले दुई वर्षभित्र नेपाली मजदूरको न्यूनतम तलब २० हजार रुपैयाँ पुर्याउने अठोटका साथ आगाडि बढ्न पार्टी निकट मजदूर सङ्गठनलाई आग्रह गर्नुभयो ।

दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सम्पूर्ण श्रमिकहरुको हक अधिकारको रक्षाका लागी नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले श्रमको सम्मान र श्रमिकको पसिनाको उचित मुल्याङ्कनवाट मात्र देशको समृद्धि हुने बताउनुभयो ।

१ सय ३० औ अन्तर्राष्ट्रिय मजदुर दिवसकै सन्र्दभमा भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मजदुर दिवसकै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको श्रमिक सङ्गठन ट्रेड युनियन महासङ्घ (टुकोन) नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले श्रमिकको भावनालाई सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।

अध्यक्ष थापाले सरकारको गतिविधिले आम श्रमिकहरुमा असन्तुष्टि पैदा हुँदै गएको आरोप समेत लगाउनुभयो ।

श्रमिक दिवसकै अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानको मर्म र भावनाअनुसार देश अगाडि बढ्न नसकेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button