तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीबाट सन्तानलाई शिक्षा

सल्यान । जिल्लाको कालिमाटी गाउँपालिका वडा न ३ पुतलीबजारका डम्बर खत्री र टेकमाया खत्री दम्पत्तीले व्याबसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।
थोरै क्षेत्रफलमा पनि मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि खत्री दम्पती तरकारी खेतीमा लागेका हुन् ।
केसी दम्पतीले तरकारी बेचेकै भरमा छोरालाई उच्च शिक्षा पढाई रहेका छन् । ‘छोराको पढाइ राम्रै छ’, टेकमाया भन्छिन ‘तरकारी बेचेर छोरा पढाएका छौं, जति पढ्छ पढाउने सोचमा छौं ।’ छोराको पढाइ देखेर आफूले दुःख भुलाउने गरेको उनी सुनाउछिन् ‘तरकारी खेती गर्न थालेको ५ वर्ष पुगेछ ।’
उनीहरूको बारीमा आजभोलि टमाटर, सिमि, आलु, भण्टा, साग, काउली छ । उत्पादन भएको तरकारी बिक्रीका लागि खासै समस्या नभएको डम्बरले बताए । ‘घर अगाडि मोटरबाटो छ, उनले भने, ‘ उत्पादन भएको तरकारी सल्यान खलंगा, दाङ्ग, सुर्खेत जाने गरेको छ ।’
धेरैजसो तरकारी गाउँमा पनि बिक्री हुने गरेको उनी बताउँछन । तरकारी बेचेर एक सिजनमा करिब डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । गाउँमा पर्याप्त सिँचाइ सुविधा भएकाले तरकारी खेती गर्न सजिलो भएको उनको भनाई छ । उनीहरूकोे परिवार यसैबाट धानिएको छ ।
उनले पहल कार्यक्रमको सहयोगमा दुई वटा टनेल निमार्ण गरी टनेलमा टमाटर खेती गर्दै आइरहेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि धेरै जग्गामा व्यावसायिक तरकारी खेती गर्ने सोचमा रहेको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button