रभुँवाघाटका माझी समुदायको जीवनशैली फेरिँदै
खोटाङ-दूधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पेशा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित र भुँवाघाटका अधिकांश माझी समुदायको अहिले शहरमा घर तथा घडेरी छ ।
सम्पत्ति नजोड्नेले पनि आफ्ना परिवारलाई शहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेका वडासदस्य सोमबहादुर माझीले बताउनुभयो । उहाँका अनुसार स्थानीय सोम माझी २०४१ सालमा विदेश गएपछि रभुँवाघाटमा बसोबास गर्ने माझी समुदायका युवाले विदेश जाने क्रम शुरु गरेका हुन् । झण्डै ३४ वर्षयता त्यहाँका अधिकांश माझी युवा वैदेशिक रोजगारीमा संलग्न रहेको पाइएको छ ।
उच्च शिक्षा हासिल गर्ने अवस्था नभएका माझी समुदायको आर्थिक उपार्जनको एक मात्र विकल्प वैदेशिक रोजगार बनेको हो । अहिले रभुँवाघाटका माझी समुदायमा वैदेशिक रोजगारीमा नगएका घरपरिवार भेटिन्न । हरेक घरबाट एकदेखि तीन जनासम्म विदेश गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता बाबुराम जोशीले बताउनुभयो ।
विदेशमा पसिना बगाएर कमाएको पैसाले कतिपय माझी युवाले गाउँमै आकर्षक घर बनाएर बसेका छन् । तीन दशकअघिसम्म स–साना झुपडीमा बसोबास गर्ने माझी परिवार पछिल्लो समय जस्ताका छानो हालेर बनाएको चिटिक्क परेको घरमा सोलारको उज्यालो बालेर बस्न थालेका छन् ।
हेर्दै उराठ लाग्दो फुस्रो डाँडा रहेको रभुँवाघाटमा पछिल्लो समय खरका छाना भएको घर विस्थापित हुने क्रम तीव्र छ । यसअघि रभुँवाघाटका माझी समुदाय सोही घाटमा डुङ्गा चलाउँदा प्राप्त हुने घाटे पाथी (अन्न) ज्याला उठाएर र माछा मारेर बेचेको पैसा वा माछासँग साटेको अन्नले जीविका चलाउँदै आएका थिए ।
रभुँवाघाटमा जन्मिएर शहरमा बसोबास गरिरहेका माझी परिवार वैशाख पूर्णिमा र फागुन तेस्रो साता गरिने कोशी पूजाका बेलामा मात्र गाउँमा भेला हुने गरेको स्थानीय युवा नेता खेमराज देउसालीले बताउनुभयो ।जिल्लाको लामीडाँडा रभुँवाघाट, घोपाटार, जयरामघाट, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायत सुनकोसी र दूधकोसी किनारमा माझी समुदायको बसोबास छ ।
लामीडाँडामा मात्र ८७ माझी परिवारको बसोबास छ । तीमध्ये ६२ घर माझी रभुँवाघाटमा रहेको माझी उत्थान सङ्घले जनाएको छ । आर्थिकरूपमा समृद्ध हुँदै गएको रभुँवाघाटमा माझी समुदायको बाक्लो बस्ती भए पनि आधारभूत तहको विद्यालयसमेत छैन । माझीगाउँमा रावा कक्षा–३ सम्म पढाइ हुने प्रावि मात्र सञ्चालनमा छ । प्रावि तहको अध्ययन पूरा गरेपछि स्थानीय बालबालिका एक घण्टा उकालो हिँडेर विश्वज्योति मावि जान बाध्य छन् ।
नजिकमा उच्च शिक्षा आर्जन गर्ने विद्यालय नभएपछि अधिकांशले बीचैमा पढाइ छाड्ने गरेका जनाइएको छ । गाउँमा शिक्षाको वातावरण सिर्जना गर्न कसैको ध्यान नपुगेको प्रति माझी समुदायको गुनासो छ । वैदेशिक रोजगारीबाट माझी समुदायको आर्थिक उन्नति हुँदै गए पनि शैक्षिकस्तर भने अझै नाजुक छ ।
प्रतिक्रिया राख्नुहोस्