तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ शैक्षिक शत्रसँगै पुस्तकमा कमिशनको खेल, अभिभावक मारमा

जनकपुरधाम । नयाँ शैक्षिक शत्र शुरु भएसंगै अहिले जनकपुरधामको निजी विद्यालयहरुले पुस्तकमा व्यापक कमिशन लिन थालेका छन् ।
निजी विद्यालय तथा पुस्तक व्यवसायी एवं प्रकाशन संस्था र विक्रेता मिलेर पुस्तकको मूल्य बढी राखेर कमिशनको बाँडफाँड गर्ने गरेको पाइएको छ ।

अभिभावकहरुको ढाड नै सेक्ने गरी पुस्तकको मूल्य निर्धारण गरिएका कारणले अभिभावकहरुलाई पुस्तक खरिदमा निकै समस्या भएको छ । जनकपुरधामका पुस्तक पसलहरुमा अहिले पुस्तक खरिद गर्नका लागि सर्वसाधारणको घुईँचो लागेको छ ।

प्रकाशकले आफ्नो पुस्तक नाम चलेको विद्यालयहरुमा पढाउनका लागि मोटो कमिशन तथा पुस्तकालयको नाउँमा निःशुल्क पुस्तक उपलब्ध गराउने गरेका छन् । यसैगरि पुस्तक व्यवसायीलाई पनि पुस्तक विक्री गर्नका लागि मोटो कमिशन दिएपनि आम अभिभावक तथा विद्यार्थीहरुलाई बढीमा १० प्रतिशत मात्र छुट दिने गरेका छन् । जवकि, पुस्तक व्यवसायीहरुलाई प्रकाशकले घटीमा २५ देखि ४० प्रतिशतसम्म कमीशन दिने गरेका छन् ।

उता पुस्तक व्यवसायीहरुको संगठनले १० प्रतिशत भन्दा बढी कमिशन नदिनका लागि सहमति गरेका कारणले आम अभिभावकहरु मारमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा तथा ग्रामिण क्षेत्रका बजारहरुमा ५ सयको संख्यामा साना देखि मझौला पुस्तक व्यवसायीहरु रहेका छन् । सरकारले पुस्तकको मूल्य तोक्नका लागि विगतमा मापदण्ड नै निर्धारण गरेको भएपनि त्यसको पालना हुनसकेको छैन् ।

पुस्तकमा भैरहेको मनपरीलाई अन्त्य गर्न जरुरी रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का अभिभावक विरेन्द्र उपाध्यायले बताए । नीजि विद्यालयको पुस्तक विक्रि गरेवापत प्राप्त गरिरहेको मनग्य मुनाफाका कारणले नै कतिपय व्यवसायिहरुले सरकारी विद्यालयको पुस्तक नै विक्रि गर्न छाडेका छन् । सरकारी विद्यालयको पुस्तकमा थोरै कमीशन भएका कारणले नै विक्रि नगरेको स्थानीय पुस्तक व्यवसायिहरुले खुलेर नै बताउने गरेका छन् ।

पुस्तकमा भैरहेको आर्थिक अनियमितता रोक्जनका लागि जिल्ला स्तरवाट पनि अनुगमन आवश्यक रहेको छ । भारतीय एडिशनको केही पुस्तकहरुमा भएको मूल्य माथिवाट विक्रेताले आफ्नो स्टीकर राखेर विक्रि वितरण गर्ने गरेका छन् । पुस्तकमा भैरहेको ठगी नियन्त्रणका लागि स्थानीय प्रशासनले पनि विषेश पहल गर्न जरुरी रहेको जनकपुरधाम ७ का राजु झाले बताएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button