तपाईँ सुन्दै हुनुहुन्छः

हिमालको पानी निर्यातका सम्भावनाबारे छलफल

अर्जुन श्रेष्ठ । खानेपानी मन्त्रालयले सार्वजनिक नीजि साझेदारीमा हिमालको पानी निर्यातका सम्भावनाबारे छलफल गरेको छ ।

खानेपानी मन्त्रालय सिंहदरबारमा आज भएको छलफलमा मन्त्रालयका तर्फबाट सहसचिव तेजराज भाटले हिमालको पानी निर्यातको सम्भावना बारेमा जानकारी गराउनुभयो ।

छलफलमा मन्त्रालयले नेपालका १४ वटा हिमालको पानी अन्तराष्ट्रिय बजारमा विक्री गर्न सक्ने सम्भावना रहेको र अन्य ८ प्रमुख नदीहरुबाट पनि पानी प्रशोधन गरेर नजिकको मुलुकमा पिउने पानीको व्यापार गर्न सक्ने सम्भावना रहेको जानकारी गराएको थियो ।

खानेपानीमन्त्री बिना मगरले नेपालको समृद्धिको लक्ष्य पूरा गर्न नेपालको पानीको सदुपयोग गर्न मन्त्रालयले छलफल अघि बढाएको जानकारी दिनुभयो ।

छलफलमा सहभागी विज्ञहरुले नेपालले सर्वाेच्च शिखर सगरमाथा र हिमालको स्वच्छ पानीको निर्यात सम्भावना भएपनि पानीको गुणस्तर सुनिश्चितता पहिलो सर्त बनाउन सुझाव दिनुभएको थियो ।

छलफलमा पिउने पानी प्रशोधन तथा वितरण क्षेत्रका व्यवसायी, विज्ञ लगायत सरोकारबाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button