तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक दरवन्दी नहुँदा विद्यालय सञ्चालनमा समस्या

बागलुङ, ६ फागुन २०७५ । गुणस्तर बढाएपछि एकीकरण हुनबाट जोगिएको यहाँको एक विद्यालय शिक्षक दरबन्दी नहुँदा समस्यामा छ । गलकोट नगरपालिका–७ स्थित प्रगति आधारभूत विद्यालयमा दुई शिक्षकको मात्र दरबन्दी छ ।

दश शिक्षकले स्थानीय स्रोतबाट तलब खान्छन् । दरबन्दी अभावमा ठूलो आर्थिक भार विद्यालय र अभिभावकमाथि छ । बाल विकास केन्द्रका सहयोगीसमेत स्थानीय स्रोतबाट राखिएको छ ।

शिक्षकको तलबमा मात्र मासिक रु एक लाखभन्दा बढी खर्च हुन्छ । अभिभावकको सहयोग, अक्षयकोषको ब्याज र ऋणधनमा खर्च धानिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो ।

विद्यालयले आर्थिक अभाव टार्न अभिभावबाट मासिक सहयोग रकम लिने गरिएको छ । ‘आर्थिक रुपमा विद्यालय समस्यामा छ’ अध्यक्ष थापाले भन्नुभयो, ‘दरबन्दी थपिएमा हामीलाई राहत हुने थियो ।’

पटक–पटक शिक्षक माग गरिए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उहाँको गुनासो छ । नगरपालिकाले छिट्टै शिक्षक व्यवस्थापन गर्ने आश्वासन दिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कूल १२३ जना विद्यार्थी अध्ययनरत् छन् । जसमध्ये १९ जना बाल विकास केन्द्रमा छन् ।

सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको प्रधानाध्यापक नगेन्द्र मल्लले बताउनुभयो । ‘अभिभावककै चाहनाअनुसार अङ्ग्रेजी माध्यम शुरु गरेका हौँ’ उहाँले भन्नुभयो, ‘अहिले गुणस्तरमा सुधार आएको छ, विद्यार्थी पनि आकर्षित छन् ।’

प्रअ मल्ल र शिक्षक कृष्ण गौतम मात्र आधारभूत तहको दरबन्दीमा कार्यरत छन् । विद्यार्थी सङ्ख्या न्यून भएपछि विसं २०६८ मा उक्त विद्यालय एकीकरणको सूचीमा परेको थियो ।

विद्यालयको दिगो व्यवस्थापन र गुणस्तर सुधारमा गाउँले एकजुट भएर लागेपछि विद्यालय जोगिएको हो ।

विसं २०४७ मा खुलेको विद्यालयमा अभिभावक र स्थानीयवासीको चन्दाबाट रु २२ लाखको अक्षयकोषसमेत खडा गरिएको छ । विद्यालयको अतिरिक्त आम्दानीको स्रोत भने केही छैन । शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार र गुणस्तर सुधारमा राज्यले सहयोग गर्नुपर्ने विद्यालयको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button