तपाईँ सुन्दै हुनुहुन्छः

बाग्मती प्रदेशका तीन जिल्लामा दादुराको प्रकोप

मकवानपुर । बाग्मती प्रदेशका तीन जिल्लामा दादुराको प्रकोप देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीका अनुसार बागमती प्रदेशका मकवानपुर, चितवन र धादिङ जिल्लाका विकट स्थानहरुमा दादुराको प्रकोप देखिएको हो ।

उहाँका अनुसार मकवानपुरको विकट कैलाश र राक्सीराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिकाका र धादिङ जिल्लाको बेनीघाटरोराङ गाउँपालिका तथा गजुरीमा समेत दादुराको प्रकोप देखापरेको छ ।

अहिले पहिलो चरण भएकाले केही व्यक्तिलाई मात्र यो रोग देखापरेको उहाँले बताउनुभयो ।

प्रकोप देखिएपछि नियमित खोप सेवाका कार्यक्रम सुरु गर्ने तयारी गरिएको समेत निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

धादिङका दुई गाउँपालिकामा दादुरा विरुद्धको खोप लगाउने काम सुरु भएको तथा मकवानपुर र चितवन जिल्लामा दादुरा विरुद्धको खोप लगाउने तयारी भएको समेत उहाँले बताउनुभयो ।

दादुरा बिरुद्धको खोप ६ महिना देखि १५ वर्ष सम्मकालाई लगाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button