तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा तरकारी आयात खुला

पाल्पा । पाल्पा जिल्लामा भारतलगायत बाहिरी जिल्लाबाट भित्रिने तरकारी आयात खुला गरिएको छ । कोरोना भाइरस(कोभिड –१९) को संक्रमण जोखिम ठानेर तरकारी आयातमा यसअघि रोक लगाइएको थियो ।

कोरोना संक्रमण रोकथाम एंव व्यवस्थापन आपूर्ति व्यवस्थापन समितिले छिमेकी जिल्ला र भारतबाट तरकारी ल्याउन सकिने निर्णय गरेको हो ।

समितिले जिल्लामा खाद्यान्न तथा अन्य आवश्यक वस्तुको आपूर्ति गर्न अहिले समस्या भएकाले तरकारी बिक्रीवितरण र आपूर्ति व्यवस्थापनमा सहज पार्न खोजिएको जनाएको छ ।

समिति बैठकले स्थानीयस्तरमा उत्पादित तरकारीजन्य वस्तुको आयात तथा आपूर्तिमा समस्या देखिएकाले व्यवसायी एंव बिक्रेताले स्थानीय उत्पादनको खरीदलाई प्राथमिकतामा राखेर छिमेकी जिल्लाका तरकारी आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको जिल्ला समितिका संयोजक लेखनाथ ज्ञवालीले जानकारी दिनुभयो ।

यसैबीच तानसेन नगरपालिकाले युवा परिषद्सँग समन्वय गरेर स्थानीयस्तरमै उत्पादित तरकारी बिक्रीवितरणको प्रबन्ध मिलाएको छ । स्थानीयस्तरबाट खरीद गरिएका तरकारी भने नगरपालिकामा मौज्दात रहेको युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button