तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीलाई स्वदेश फर्काइयो

बैतडी । एक महिनाभन्दा बढी समय भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई आज स्वदेश फर्काइएको छ । भारतसँग सीमा जोडिएको झुलाघाट नाका र दार्चुलासँग सीमा जोडिएको धारचुला नाकाबाट नेपालीहरुलाई स्वदेश फर्काइएको हो ।

भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काइएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

नेपाल र भारतका स्थानीय प्रशासनबीच सहमति गरेर नेपाली मजदुरहरुलाई स्वदेश फर्काइएको हो ।सीमा नाकामा नेपाली मजदुरहरुको समान्य चेकजाँच गरेर स्वदेश भित्र्याउने कार्य जारी रहेको छ ।

स्वदेश फर्काइएकाहरुालई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

बैतडी जिल्लाका मजदुरहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

अन्य जिल्लाका नागरिकलाई पनि बैतडीमै १४ दिन क्वारेन्टाइनमा राखेर आरडीटी गरेपछि मात्रै घर पठाइनेछ ।

बैतडीमा र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) कीटको अभाव
बैतडीमा र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) कीटको अभाव भएको छ । जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडीटी गर्ने भनिएपनि कीटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लाका १० ओटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडीटी गर्ने निर्णय भएको भएपनि कीटको अभावमा सो कार्य अघि बढाउन सकिएको छैन् ।

डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडीटी गर्न कीट पठाइएको छ । जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भएपनि पाँच सय ४८ जनाको आरडीटी गरिएको छ ।

यस्तै चार सय२९ जनाको स्वाब परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोट नेगेटिभ आएको छ ।

दलित समुदायमा लकडाउनका कारण भोकमरी
बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ३ ढुंगाबिसौनाका दलित समुदायका नागरिकले जारी लकडाउनका कारण भोकमरी हुन थालेको बताएका छन् ।

दैनिक मजदुरी गरेर घरपरिवार चलाउन परेपनि लकडाउनका कारण काम गर्न नपाएपछि घरपरिवार पाल्न सकस भएको स्थानीय अर्जुन लुहारले जानकारी दिनुभयो ।

जारी लकडाउनका कारण मजदुरी गर्न नपाएपछि आफूहरुको चुल्हो बल्न छोडेको उहाँले बताउनुभयो । नगरपालिकाबाट पनि आफूहरुले केही राहत नपाएको उहाँले गुनासो गर्नुभयो ।

तर नगरप्रवक्ता दलबहादुर धामीले भने समस्यामा परेका नागरिकलाई नगरपालिकाले राहत वितरण गरेको बताउनुभएको छ ।

उहाँले साच्चिकै समस्यामा परेका नागरिकको तथ्यांक संकलन गरेर प्रतिपरिवार दुई हजार बराबरको खाद्यान्न वितरण गरिएको दाबी गर्नुभएको छ ।

जारी लकडाउनका कारण अन्य समुदायको तुलनामा दलित समुदायका नागरिक समस्यामा परेका छन् । दैनिक मजदुरी गरेर खानेहरु समस्यामा परेका बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button