तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै अर्याल दाजुभाइ

गुल्मी । गुल्मीका दुई युवाहरूले गाउँमै जग्गा भाडामा लिएर कृषि उद्यम गरि राम्रो आम्दानी मात्रै गर्नुभएको छैन, अन्य युवालाई पनि गाउँमै केही गर्नुपर्छ भन्ने सन्देश समेत दिनुभएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका दुई दाजुभाइ २३ वर्षीय विमल र २१ वर्षीय पदम अर्याल । तरकारी बेचेरै माध्यमिक तह अध्ययन गर्नुभयो तर आर्थिक अवस्थासँगै गाउँमा आफ्नो प्रशस्त जग्गा नहुँदा उहाँहरू मजदुरी गर्न भारततर्फ लाग्नुभयो । दुई वर्ष भारतमा मजदुरी गरे पनि राम्रो आम्दानी हुन सकेन । प्रदेशमा भन्दा आफ्नै देशमा दुख गर्ने सोचका साथ गाउँ फर्की विगत ३ वर्षदेखि तरकारी गरिरहनुभएको छ ।

वार्षिक २८ हजार तिर्ने गरि २० रोपनी जग्गा भाडामा लिएर सिमि, बोडी, टमाटर, आलु र काउली उत्पादन र बिक्री वितरण गर्दै आउनुभएको छ । जसबाट सम्पुर्ण खर्च कटाएर वार्षिक करिब १० लाख रुपैयाँ बचत हुने अर्याल दाजुभाइ बताउनुहुन्छ ।

कृषिमा धेरै चुनौती भए पनि माटोसँग माया गाँसेर काम गर्दा सफल हुने अनुभव विमलको छ । उत्पादित तरकारी बजारीकरणको लागि कुनै समस्या छैन जसले गर्दा आगामी दिनमा व्यवसाय विस्तार गर्ने सोच उहाँहरूको छ ।

युवाहरूलाई कृषिमा प्रोत्साहन गर्न मागमा आधारित कार्यक्रममा सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीको भनाइ छ ।

गुल्मीमा एक हजार तीन सय ३० जना किसानले वार्षिक १६ हजार सात सय मेट्रिक टन तरकारी उत्पादन गरि ४७ करोड आम्दानी गर्छन् भने २८ करोड ११ लाख बराबरको तरकारी जिल्ला बाहिर निर्यात हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button