तपाईँ सुन्दै हुनुहुन्छः

‘विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छ’

ललितपुर । गृहमन्त्री रमेश लेखकले हालैको विपद्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताउनुभएको छ ।

ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुँदै उहाँले विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्छ । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो”, उहाँले भन्नुभयो,“सोही भावनाका साथ सरकार अत्यन्तै संवेदनशील भएर पुनः निर्माणमा लाग्छ । प्रभावित नागरिकलाई अभिभावकत्व प्रदान गर्छ ।”

यस कार्यमा सत्ता पक्ष वा प्रतिपक्ष, राजनीतिक आस्था वा कुनै पूर्वाग्रह नराखी सबै मिलेर अगाडि बढ्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । उहाँले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गर्नुभयो । “लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तास्वरुप रु २५ हजार पठाउँछौँ”, उहाँले भन्नुभयो ।

रक्षामन्त्री मानवीर राईले मिलेर काम गर्दा विपद्बाट सिर्जित समस्याको छिट्टै समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

ललितपुर क्षेत्र नं १ का सङ्घीय सांसद उदयशम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल, महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, उपाध्यक्ष डोल्मामाया गोले लगायतले प्रभावित क्षेत्र, क्षति विवरण, पुनःनिर्माण र पुनःस्थापनाको आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।

स्थलगत निरीक्षणका क्रममा आज सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको बाढीपहिरो प्रभावित ग्रामीण क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोलीले अनुगमन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button