तपाईँ सुन्दै हुनुहुन्छः

लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ: मुख्यमन्त्री आचार्य

रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारले लिने बताउनुभएको छ ।

 रुपन्देही उद्योग सङ्घको ४६औँ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई शनिवार बुटवलमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको हो ।

 प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पार्नु भएको छ । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरूमा औद्योगिक क्षेत्र बनाउनेगरी निर्णय गरेको थियो । सो निर्णयहरूको कार्यान्वयन गर्ने गरी काम अघि बढ्ने समेत जानकारी गराउनुभयो ।

उद्योगी, व्यवसायीको उत्साहसँग प्रदेशको समग्र विकासको सम्बन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगमैत्री नीति अवलम्बन गरेको बताउनुभयो । ‘प्रदेश सरकारले राम्रोसँग बुझेको छ । जब सम्म उद्योगी, व्यवसायीहरूले निर्विवाद ढंगले उहाँहरूलाई उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तब सम्म मुलुकको पनि उन्नति हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्ने भनेकै नीजि क्षेत्रले हो’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।’

उत्पादनको क्षेत्रमा लगानी बढाउन मुख्यमन्त्री आचार्यले जोड दिनुभयो ।‘हामी परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी छ । स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी छ’उहाँले भन्नुभयो,‘स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिन्छ । स्थानीय उत्पादनको बजारीकरणको लागि सरकारले सहयोग गर्छ ।’ व्यवसायीहरूलाई पर्ने कानुनी जटिलताको काँठो फुकाउन सरकार तयार रहेको समेत बताउनुभयो । 

‘प्रदेश सरकारले बनाएका कानुनबाट यहाँहरूलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको छ भने त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘तपाईँहरूलाई परेका कानुनी समस्याहरू, ती बाधा अड्चनहरूलाई फुकाउन हामी तयार छौँ । त्यस्ता कानुनहरूमा समस्या देखा परेका छन् भने समयमा बुँदागत रुपमा सुझाव राख्न सक्नुहुन्छ ।’ उद्योगी, व्यवसायीहरूको सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button