तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेइ नोभिकोभले शिष्टाचार भेट गर्नुभएको छ ।

आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत नोभिकोभले शिष्टाचार भेट गर्नुभएको हो । भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायत विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष दाहालले नेपाल–रुसबिच विगतदेखि नै सरकार र जनस्तरसम्म सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै दुई देशबीचको सहकार्यले आगामी दिनमा यस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको सङ्घीय संसद्मा नेपाल–रुस संसदीय मैत्री समूह गठन गरिएको र यस समूहले दुई देशबीचको संसदीय सम्बन्ध तथा अनुभव आदानप्रदान गर्न सहज हुने बताउनुभयो । नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाडौँ–मस्को सिधा हवाई सुविधा सञ्चालनका लागि पहल गर्न आग्रह गर्नुभयो ।

नेपालको कृषि, प्रविधि र ऊर्जाका क्षेत्रमा लगानीका लागि रुसी लगानीकर्तालाई प्रोत्साहित गर्न आग्रह गर्नुहुँदै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउन बढीभन्दा बढी रुसी नागरिकले नेपाल भ्रमण गर्ने गरी वातावरण बनाउन पनि अनुरोध गर्नुभयो । यस्तै, रुस–युक्रेन युद्धपछि नेपाली युवा विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो राख्नुहुँदै उहाँले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रह समेत स्मरण गराउनुभएको थियो ।

त्यस अवसरमा राजदूत नोभिकोभले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आपसी हितका साथै सहयोग आदानप्रदान र सहकार्य बढाउँदै जानुपर्ने बताउनुभयो । उहाँले नेपालमा पर्यटनको सम्भावनाबारे चर्चा गर्नुहुँदै लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । नेपालले जलविद्युत् उत्पादनबाट राम्रो आम्दानी गर्नसक्ने र यस क्षेत्रमा लगानी गर्न रुसका लगानीकर्ता इच्छुक रहेको राजदूत नोभिकोभको भनाइ थियो ।

उहाँले जलविद्युत् उत्पादन, हवाई सेवा विस्तार, अन्तरिक्षमा संयुक्त उडान, प्रविधि लगायत क्षेत्रमा रुसले नेपालमा काम गर्ने र यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाली विद्यार्थीहरूलाई रुसमा छात्रवृत्तिको व्यवस्था गरिएकाले हाल ४२ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको र केही समयमै छात्रवृत्तिको सङ्ख्या बढाएर दुई सयसम्म पुर्‍याउने योजना राजदूत नोभिकोभले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button