तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरी जलमा रहेको प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गर्नुभयो ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले बताउनुभयो ।

मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिनुभयो ।

खानेपानी मन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबिच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका सङ्घर्ष समितिसँग वार्ता गरेको थियो ।

वार्तापछि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button