तपाईँ सुन्दै हुनुहुन्छः

सरकार उद्योगीको साथमा छ: मन्त्री भण्डारी

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारण सभामा बोल्नुहुँदै उहाँले सरकार र निज क्षेत्र मिलेर जानुपर्ने बताउनुभयो । 

मन्त्री भण्डारीले नीतिगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएको बताउनुभयो । उहाँले मन्त्रालय सुधार कार्ययोजना तय गर्ने बेला सबै क्षेत्रका व्यक्तिहरूसँग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताउनुभयो । 

उहाँले “आर्थिक मन्दी”का कारण व्यवसायीहरूलाई परेको आर्थिक सङ्कटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताउनुभयो । युवाहरूलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउँदै उहाँले वर्तमान चुनौतीहरूलाई सम्भावनामा बदल्न आग्रह गर्नुभयो । युवाहरूले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उहाँको भनाई छ । 

मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानियतह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्य गर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

जनतामा “सरकार मेरो हो” भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उहाँले भन्नुभयो, “सरकार एमालेको, काँग्रेसको वा अन्य कुनै दलको हो भन्ने होइन, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ । सरकारबाट जनताले आशा राख्न छाड्नु हुँदैन । बरु नीतिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नीति नियम सुधार गछौँ, कार्यक्रमहरू सच्याउँछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउँछौँ ।”

उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारणसभा संखमुलमा आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button