तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जका ३२ वडामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाई कार्य योजना लागु गरी महानगरका ३२ वटै वडाका नागरिकको पहुँचमा सुरक्षित र स्वच्छ खानेपानी पुर्‍याउन गुरुयोजना शुरु गर्ने भएको छ ।

खानेपानी संस्थान, युनिसेफ र वीरगञ्ज महानगरपालिकाबिच आज सम्पन्न बैठकमा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जका ३२ वटै वडामा देखिएको खानेपानी समस्यालाई समाधान गर्न महानगरपालिकालाई युनिसेफ र खानेपानी संस्थानको सहयोग आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

उहाँले स्वच्छ र सुरक्षित खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न गुरु योजना बनाएर कार्यान्वयन गर्न ढिलाइ भइरहेको भन्दै छिटो योजनालाई कार्यान्वयनमा लैजान जरुरी रहेको समेत बताउनुभयो ।

नगर प्रमुख सिंहले सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु महानगरको मुख्य प्राथमिकता भएको बताउँदै सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्न लागेकोमा खुशी समेत व्यक्त गर्नुभयो ।

बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागु गर्ने निर्णय भएको छ ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा उप–प्रमुख इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक त्रिदीप कुमार श्रेष्ठ, इन्जिनियर निरण महर्जन, प्रवीण कुमार साह, युनिसेफका प्रमुख इरफान एस, सुरेन्द्र बाबु ढकाल, सिद्धि श्रेष्ठ, महानगरपालिकाका प्राविधिक सल्लाहकार इन्जिनियर प्रकाश अमात्य, राकेश साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button