तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा १९ जनाको मृत्यु

वासिङ्टन । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्युजले उल्लेख गरेको छ । 

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए)का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ ।

“मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईँको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,” स्थितिको भयानक तस्बिर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्विटरमा लेख्नुभएको छ । 

उहाँले भन्नुभयो, “हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सपोर्ट सक्रिय गरेका छौँ । खोजी र उद्धार कार्य जारी छ,” उहाँले भन्नुभयो ।

मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीय बासिन्दालाई सचेत रहन भनिएको छ ।

एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ ।

हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ । 

टिभी फुटेजमा आपतकालिन सेवाहरूले सहयोगको खाँचो परेकाहरूलाई पु¥याउने प्रयास गरिरहँदा घरहरू समतल भएको र सडकहरूमा भग्नावशेष छरिएको देखिएको छ । 

मेमाका मालरी ह्वाइटले भन्नुभयो, “जहाँसम्म आधिकारिक क्षतिको आँकलन शनिबार मध्यान्नसम्म असम्भव हुने देखिएको छ ।”

“अहिले हाम्रो मुख्य प्राथमिकता जीवन सुरक्षा हो र मानिसहरूको अवस्थाको लेखाजोखा र उनीहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु हो,” उहाँले सीबीएस न्यूजसम्बद्ध डब्ल्यूजेटिभीलाई भन्नुभयो । 

शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवातको चेतावनी जारी गरिएको थियो । तर स्थानीय समयअनुसार शनिबार बिहान २ः४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button