तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्व कार्यालय जनकपुरधामले लिएको लक्ष्य अनुसार राजश्व सङ्कलन भएन

जनकपुरधाम । आन्तरिक राजश्व कार्यालय जनकपुरधामले लिएको लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको सो कार्यालयले जनाएको छ । 

फागुनसम्ममा २ अर्ब १० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ९० करोड मात्र राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत किशोर वर्ताैलाले जानकारी दिनु भएको छ । 

चैत्र महिनामा ४६ करोड ९३ लाख लक्ष्य लिएकोमा ७ गतेसम्ममा केवल ३ करोड मात्र राजश्व असुली भएको प्रमुख कर अधिकृतले बताउनु भयो । लक्ष्य भेटाउनका लागि दैनिक रुपमा डेढ करोडको दरले राजश्व सङ्कलन गर्नुपर्ने अवस्था भएपनि सो अनुसारको कर उठ्न नसकेको बताउँदै बक्यौता असुलीका लागि ताकेता गर्ने काम भइरहेको छ । 

निर्माण व्यवसायीहरूको भुक्तानी रोकिएकाले सो क्षेत्रबाट प्राप्त हुनु पर्ने करमा व्यापक मात्रामा कमी आएको छ । यसै गरि इँटा उद्योग तथा निर्माण क्षेत्रका अन्य ठाउँबाट आउनु पर्ने राजश्व आउन नसकेको बताउनु भयो । 

आर्थिक मन्दीको प्रभाव भएका कारणले बैङ्कसँग ऋण लिएका व्यवसायीहरूले ऋणको भुक्तानी नगरेका कारणले पनि राजश्व सङ्कलनमा कमी आएको छ । बजारमा खाद्यान्न सामाग्रीहरूको किनमेल भएको देखिएपनि अन्य सामानहरूको बिक्री गर्ने पसलमा खासै भिडभाड रहेको छैन । 

आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा ३४ हजार ४ सय ६३ करदाताहरू दर्ता रहेका छन् । जस मध्ये मूल्य अभिवृद्धि तर्फ ७ हजार ४ सय ७७ र अन्तशुल्क तर्फ १ हजार ४ सय ३५ जना करदाताहरू रहेका छन् । अन्य अरू प्रकारका करदाताहरू रहेका छन्  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button