बजारमा नेपाली स्याउ स्थापित हुँदै
भुवनप्रसाद आचार्य । पछिल्लो समय नेपाली बजारमा नेपालमा फल्ने स्याउ स्थापित हुदै गएको छ । जुम्लामा फलेको अर्गानिक स्याउ सुर्खेत, नेपालगंज, बुटवल हुदै काठमाण्डौको बजारसम्म आइपुगेको छ ।
मुस्ताडको स्याउ यस अघि नै काठमाडौको बजारमा प्रवेश गरिसकेको भए पनि प्रभावकारी ढुवानी व्यवस्था, गुणस्तर तथा बजारीकरणको अभावमा काठमाडौको बजारमा भारतीय र चिनियाँ स्याउको प्रतिस्पर्धामा टिक्न सकेको छैन ।
मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउको यही दशैसंगै काठमाडौंमा ब्यवसायिक कारोबार शुरु भएको छ । एग्रो मनाङले उत्पादन गरेको स्याउको दशैंको घटस्थापनाबाट काठमाडौंमा व्यवसायिक कारोबार शुरु गरेको हो ।
हिमालयन फ्रेस’ ब्राण्डको मनाङको स्याउ जिके एण्ड सन्स एग्रो प्रालिले काठमाडौँमा भाटभटेनी, बिगमार्ट लगायत डिपार्टमेन्ट स्टोरहरुमा एक महिनाको अवधिमा ८ टन बिक्री गरेको जिकेका प्रमुख गणेश चालिसेले जानकारी दिनुभयो ।
चालिसेले कोल्ड स्टोरबाटै दैनिक एक लाख रपैयाँको स्याउ बिक्री भइरहेको र माग अनुसार घरघरमै समेत पुर्याउने व्यवस्था गरिएको बताउनु भयो ।
उच्च हिमाली क्षेत्रमा उत्पादन भएको, कुनैपनि विषादी प्रयोग नभएको र समुन्द्री सतहभन्दा २५ सयदेखि ३ हजार मिटर उचाईमा उत्पादन भएकोले बजारमा आउने अन्य स्याउ भन्दा मनाङको स्याउ रसिलो र स्वादिलो हुने भएकोले माग बढेको चालिसे बताउनु भयो ।
नेपालमा उत्पादन हुने अन्य स्थानका स्याउ ‘ग्रेडिङ’ नगरी बजारमा ल्याउने गरिएपनि मनाङ एग्रोले भने सबै स्याउको साइजअनुसार ग्रेडिङ गरेर मूल्य निर्धारण गरेको छ ।्
एग्रो मनाङले भार्ताङमा ७३५ रोपनीमा गरेको स्याउ फर्म दक्षिण एसियाकै ठूलो मानिन्छ । यो वर्ष थप एक लाख स्याउका विरुवा रोप्ने तयारी भइरहेको एगा्रे मनाङले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्