तपाईँ सुन्दै हुनुहुन्छः

गाजा युद्धविरामको प्रस्तावको अध्ययन ‘सकारात्मक भावना’ बाट भइरहेको हमासको भनाइ

प्यालेस्टिन। हमासका प्रमुख इस्माइल हानियेहले बिहीबार हमासले गाजामा करिब सात महिनादेखि जारी युद्धमा ‘सकारात्मक भावना’ का साथ युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको बताउनुभएको छ ।
हमासको आधिकारिक वेबसाइटका अनुसार इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेललाई गरेको फोनमा हानियेहले कतार र अमेरिकासँगै वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले खेलेको भूमिकाको प्रशंसा गर्दै युद्धविराम प्रस्तावको अध्ययन गर्न अभियानको सकारात्मक भावनालाई जोड दिनुभयो ।
बेलायतका अनुसार मध्यस्थकर्ताहरूले राखेको युद्धविरामको प्रस्तावले ४० दिनका लागि युद्ध रोक्ने र दर्जनौँ बन्धक र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गर्नेछ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार इजराइलको भ्रमण गर्दै हमासलाई युद्धविराम योजनालाई स्वीकार गर्न आग्रह गर्नुभएको थियो । “हमासले स्वीकार गर्नुपर्छ र यो गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “यदि हमास वास्तवमा प्यालेस्टिनी जनताको ख्याल गर्छ र उनीहरूको पीडामा तत्काल कमी हेर्न चाहन्छ भने उसले यो सम्झौता गर्नुपर्छ ।”

यद्यपि रिहा गर्न सकिने बन्धकहरूको सङ्ख्यालाई लिएर र कुनै पनि सम्झौताको उद्देश्यमा गहिरो मतभेद देखिएकाले वार्ताको परिणाम अत्यन्त अनिश्चित बनेको छ ।

हमासका वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले हमासको लक्ष्य ‘यो यद्धलाई समाप्त गर्नु’ रहेको बताउनुभयो । उक्त लक्ष्य इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको घोषित अवस्थाको विपरीत छ । उहाँले युद्धविराम समाप्त भएपछि पनि सेनाले हमाससँग लडिरहने वाचा गर्नुभएको छ ।

हालैका दिनमा हमासका अन्य अधिकारीहरूको टिप्पणीबाट युद्धविराम प्रस्तावमा हमास आन्दोलनको अवस्था अहिले ‘नकारात्मक’ रहेको देखाएको छ । तर बिहीबार हानियेहले आन्दोलनको प्रतिनिधिमण्डल ‘जारी छलफल पूरा गर्नका लागि’ सकेसम्म चाँडो इजिप्ट फर्किने पुष्टि गर्नुभएको छ । “ती वार्ताहरूको उद्देश्य हाम्रा मानिसको माग पूरा गर्ने र आक्रामकतालाई रोक्ने सहमतिमा पुग्नु हो”, उहाँले भन्नुभयो ।

इजिप्टको राज्य–सम्बन्धित मिडिया अल–काहेरा न्युजले बिहीबार इजिप्टका उच्चस्तरीय स्रोतलाई उद्धृत गर्दै ‘हमासको प्रतिनिधिमण्डल आगामी दुई दिनभित्र युद्धविराम वार्ता जारी राख्नका लागि कायरो पुग्ने’ बताएको छ ।

यसैबीच इजराइली सरकारका प्रवक्ता रकेला करमसनले बिहीबार पत्रकारहरूसँग ‘सम्झौतालाई रोक्ने एक मात्र हमास’ रहेको बताउनुभयो । “हमासले आफ्ना शर्तहरू कडा पार्छ र स्वयंलाई अनुचित मागहरूमा फसाउँछ”, उहाँले भन्नुभयो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button