तपाईँ सुन्दै हुनुहुन्छः

मकैखेतीमा देखिएको फौजी किरा नियन्त्रणमा, फौजी नियन्त्रणमा ल्याउन जैविक विधि

स्याङ्जा । स्याङ्जाको गल्याङमा लगाईएको मकै खेतीमा लागेको फौजी किरा नियन्त्रणमा ल्याईएको छ । यहाँका वडा नं. १, २, ६, ७ ८, ९ र ११ को मकैमा लागेको फौजी किरालाई विषादी छर्किएर नियन्त्रणमा ल्याईएको हो ।

केही समय अघि फौजीको आक्रमणका बारेमा जानकारी पाएपछि नगरपालिकाको कृषि साखा प्रमुख सहितको टोलीले स्थलगत अनुगमन गरी फौजी नियन्त्रणमा ल्याएको हो ।

कृषि साखा प्रमुख शिव ढकालका अनुसार इमानेटिन डेन्जोईट नामक विषादी छर्केर फौजी किरा नियन्त्रणमा ल्याईएको हो ।
गोडमेल गर्ने अवस्थामा आएका मकै वालीमा फौजी किरा पूर्ण नियन्त्रणमा आएको कृषि प्रमुख ढकालको दावी छ । ढकाल भन्नुहुन्छ, “साना मकैमा नगरपालिकाको कृषि शाखा र स्थानीयको सक्रियतामा पुर्ण रुपमा फौजी किरालाई नियन्त्रणमा लिईएको छ । अन्य धानचमर निकाल्ने प्रक्रियामा रहेका ठुला मकैमा समेत ७५ प्रतिशत नियन्त्रणमा आईसकको छ ।”

इमानेटिन नामक विषादी पानीमा घालेर संक्रमित मकैमा छर्ने गरिन्छ । बढी ग्रसित मक वालीमा नगरपालिकाको कृषि शाखाले विषादी उपलब्ध गराएको थियो भने कम प्रभावित स्थानहरुमा कृषकहरु आँफैले किनेर विषादी छर्केका हुन् । तत्कालका लागी विषादी छर्किएपनि दिर्घकालिन समयमा लागि भने नगरपालिकाले जैविक उपाय अपनाउने भएको छ । कृषि शाखा प्रमुख ढकालका अनुसार मकै खेती गरिएको छेउ–छेउमा नेपियर जातका घाँस लगाईनेछ भने बीच भागमा डेस्मोटियम नामको घाँसको विरुवा लगाईनेछ । नेपियर घाँस फौजीले रुचाउने हुँदा त्यही घाँसमै रहेर मकैलाई आक्रमण गर्न सक्दैन । डेस्मोटियम घाँसको गन्धले फौजी मकैमा आउन सक्दैन ।

यहाँका किसानहरुले केहीले नगरपालिकाबाट प्राप्त हाईब्रिड जातका विउ छरेका थिए भने केहीले स्थानीय जातका मकै नै बारीमा छरेका हुन् । गल्याङ नगरपालिकाले बेमौसमी मकै बजारमा ल्याउने र किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बेमौसमी मकैको बिउ वितरण गरेको थियो । हिउँदमा समेत हरियो हराभरा वातावरण बनाउने र केही आर्थिक उपार्जन गर्ने योजना नगरपालिकाको छ । यहाँ लगाईएका मध्ये ७ रोपनी क्षेत्रफलका मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएको थियो । मकैका पात तथा डांठहरु फौजी किराले निकै मन पराउने हुनाले यसले मकैलाई आक्रमण गर्ने गर्छ । पछिल्लो समय देशका विभिन्न जिल्लाहरुमा फौजी किराले धान समेत नष्ट पारेको खबरहरु आईरहेका छन् ।

के हो अमेरीकन फौजी किरा ?
अमेरीकन फौजी कीरा मकैवालीमा लाग्ने पुतली समुह अन्तर्गत पर्ने रात्रीचर कीरा हो । यस कीराको लार्भा अवस्थाले मकैलगायत विभिन्न ८० प्रकारका वालीनालीमा नोक्सानी पुर्याउछ । मुख्य मकै मन पराउने यस कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखु तथा घाँसेवालीहरु र तरकारी बालीमासमेत क्षति पुर्याउने गर्छ ।

उपयुक्त खाना तथा वासस्थानको खोजीमा यो कीराको वयस्क पुतली एक रातमा १०० किलोमिटर टाढासम्म पनि उडेर जान सक्छ । यो कीरा अमेरीकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुमा पाइने रैथाने कीरा हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button