तपाईँ सुन्दै हुनुहुन्छः

प्राप्त अधिकारको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यकः सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकारहरू सङ्घर्षको प्रतिफल भएकोले यसको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक रहेको बताउनुभएको छ । 


सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अन्तर पार्टी महिला सञ्जालका तर्फबाट ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले आवश्यक पर्दा सकारात्मक र रचनात्मक दबाब सृजना गर्नुपर्ने बताउनुभयो । 


संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरू कायम गरिएको स्पष्ट गर्दै उहाँले सोही व्यवस्थाका कारण प्रतिनिधि सभामाथि दुई पटकसम्म आइपरेका नकारात्मक परिघटना समाधान भएको धारणा राख्नुभयो ।   


संसद्लाई प्रभावकारी बनाउन आफूले पहल र प्रयत्न जारी राखेको बताउँदै सभामुख सापकोटाले संसद्मा  विधेयकहरूलाई अघि बढाउने सन्दर्भमा आफूले प्रधानमन्त्रीसँग र आवश्यक परे सर्वदलीय छलफल गर्ने जानकारी दिनुभयो । 

अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष कल्याणी रिजालले सभामुख दह्रोसँग उभिएका कारण प्रतिनिधि सभाको पुनर्स्थापना भएको बताउँदै मन्त्री परिषद् विस्तार हुँदा कम्तीमा संविधानले व्यवस्था गरे अनुसारको महिला सहभागिताका लागि पहल गरिदिन सभामुख सापकोटालाई आग्रह गर्नुभयो । 

ज्ञापनपत्रमा संविधान सभाबाट जारी संविधानको प्रस्तावनामा नै लैङ्गिक विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने भन्ने व्यवस्था गरिनु, मौलिक हक र कर्तव्यको धारा ३८ महिलाको हकको उपधारा ४ मा राज्यका सबै निकायमा महिलाहरूलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक लगायत अधिकारको कार्यान्वयन र महिलाहरूको न्यूनतम पनि एक तिहाइ प्रतिनिधित्व नघट्ने गरी सहभागिता सुनिश्चितताका लागि सभामुख समक्ष माग गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button