तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामसहित आसपासका जिल्लाहरुमा चिसो बढ्यो

जनकपुरधाम । आज बिहानदेखि बाक्लो कुहीरोसहित चिसो हावा चलेका कारणले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित आसपासका जिल्लाहरुमा चिसो बढेको छ ।

बिहानदेखि नै घाम नलागेको र पश्चिमबाट चिसो हावा चलेका कारणले चिसो बढेको छ । चिसो बढेका कारणले बजार तथा सार्वजनिक स्थलहरुमा मान्छेको उपस्थिति पातलिन थालेको छ ।

एक्कासी चिसो बढेका कारणले चिसोबाट जोगिनका लागि न्यानो, बाक्लो एवं तातो लुगाको विक्रिमा बृद्धि भएको छ । खास गरेर ग्रामिण क्षेत्रमा अगेना बालेर आगो ताप्ने क्रम पनि बढेको छ ।

उता चिसो बढेपछि बृद्ध, ज्येष्ठ नागरिक, बालबालिका, अशक्त, अपाङ्ग, दीर्घ रोगीहरु, दम, रुघाखोकीका बिरामीहरु बढी सचेत हुनुपर्ने सुझाव चिकित्सकहरुले दिनु भएको छ । चिसोको समयमा तातो तथा झोलिलो खाने कुरा खानका लागि चिकित्सकहरुले सर्वसाधारणमा आग्रह गर्नु भएको छ ।

उता बाक्लो कुहिरोका कारणले आज हवाई सेवा सञ्चालन हुन सकेको छैन । नेपाल नागरिक उड्डयन कार्यालय जनकपुरधामका अनुसार आज कुनै पनि हवाई उडान नभएको जनाएको छ ।

जहाज अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी नभएका कारणले कुनै पनि विमान विमानस्थलमा नआएको जनकपुर विमानस्थल, कार्यालयले जनाएको छ । जनकपुरधाममा दैनिक रुपमा काठमाण्डौ–जनकपुर र जनकपुर–काठमाडौ गरी बुद्ध तथा यति एअरलायन्सका गरेर ५ वटा उडडान भईरहेको छ ।

चिसोका कारणले धनुषाका साथै महोत्तरी, सर्लाही, सिरहा, सप्तरी सहितका जिल्लाका जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button