तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरूमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।

सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएको हो । उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्याएको क्षतिबारे छलफल भएको थियो ।

उहाँहरू सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात् सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा आइपुग्नुभएको हो ।

मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत स्थानीयवासीसँग छलफल गर्नुभएको थियो ।

सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ । उहाँले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिनुभयो ।

सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्‍याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button