तपाईँ सुन्दै हुनुहुन्छः

बीमा प्राधिकरणद्वारा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना

काठमाडौँ । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८१ र नेपाल संवत् ११४५ को शुभ अवसरमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा शुभकामना दिनुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

हालैको बाढी तथा पहिरोबाट कृषि क्षेत्र बाहेक सडक र पुलमा मात्रै २७ अर्ब रुपियाँ भन्दा बढी क्षति भएको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “सरकारले पूर्वाधारमा लगानी मात्र गर्ने होइन, बीमा मार्फत लगानीको सुरक्षण समेत गर्नु आवश्यक छ, क्षति भएका स्थानमा नयाँ सडक तथा पुल बनाउनुपर्ने हुन्छ, बीमा नगरेका कारण तिनको निर्माणमा सरकारले थप लगानी गर्नुपर्ने हुन्छ, यसलाई ध्यानमा राखेर सबै संरचनाको बीमा गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।”

अध्यक्ष सिलवालले जलवायु परिवर्तनको असर बढी पर्ने देशमा नेपाल पनि रहेकाले सरकारको नीति तथा रणनीतिमा बीमा समावेश गरी बिमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै बीमा कम्पनीहरू परम्परागत रूपमा नभई नयाँ संस्करणका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र लघु बीमक संघका अध्यक्ष, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button