तपाईँ सुन्दै हुनुहुन्छः

‘द्वन्द्व पीडितलाई परिपुरण तथा अन्य काम गर्न कानून बनाइँदै’

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले द्वन्दको क्रममा घरबार विहीन बनेका पीडितहरूको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर भएको बताउनुभएको छ ।

गृह मन्त्रालयको समन्वयमा समग्र जन उत्थान केन्द्र लहानको आयोजनामा जनकपुरधाममा सम्पन्न द्वन्द्व पीडित नीतिगत सवाल सम्बन्धमा प्रदेश स्तरीय छलफल कार्यक्रममा उहाँले द्वन्द्व पीडितको समस्या समाधान नहुनुमा राजनीतिक अस्थिरता पनि एक रहेको बताउनुभयो ।

गृहमन्त्री लेखीले चालु आर्थिक वर्षमा द्वन्द्व पीडितका लागि प्रदेश सरकारले तय गरेको कार्यक्रम मन्त्रालयले चाडपर्वपछि कार्यान्वयन गर्ने बताउनुभयो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव सञ्जीव सिंहले विगतमा मधेश प्रदेश सरकारले द्वन्द्व पीडितलाई निर्देशिकाको आधारमा थोरै भए पनि राहत तथा परिपुरणको काम गरेको बताउँदै व्यवस्थित रुपमा काम गर्न ऐन आवश्यक भएको बताउनुभयो ।

मधेशी सहिद प्रतिष्ठानका सदस्य रामनरेश यादवले मधेश प्रदेशबाट मधेश आन्दोलनमा सहिद भएका ६३ तथा माओवादी द्वन्दको समयमा सहिद भएका १ हजार ९८ जना रहेकोमा उहाँहरू अधिकांश परिवारलाई प्रतिष्ठानले राहत स्वरूप ११ करोड ४० लाख सहयोग गरेको बताउनुभयो ।

ईन्सेकका मधेश प्रदेश संयोजक राजु पासवानले विभिन्न आन्दोलनको क्रममा शहादत दिएका सहिद परिवारलाई परिपुरणको व्यवस्था गर्नका लागि मधेश प्रदेशमा ठोस कानूनको अभाव भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले राज्यले आफूहरूलाई आर्थिक सहयोगको साटो परिपुरणका साथै परिवारका एक सदस्यलाई रोजगारी दिनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button