तपाईँ सुन्दै हुनुहुन्छः

बाल विवाह रोक्न गाउँपालिकाले बालिका बिमा गर्ने

रुपन्देही । रूपन्देहीको गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मीएका बालिकाहरूको बालिका बिमा गर्ने भएको छ ।

‘छोरी बचाउ, छोरी पढाऊ’ अभियान अन्तर्गत गैंडहवा गाउँपालिकामा जन्मिएका बालीकाको प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बाल विवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बिमा योजना निर्देशिका २०८१ मा उल्लेख भएबमोजिम गैंडहवा गाउँपालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिचमा सम्झौता भएको छ ।

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बालिका बिमा इटेण्डरबाट खोलेर सम्झौता गरिएको बताउँदै बालिकाका लागि बालिका बिमा गैँडहवा गाउँपालिकामा नयाँ आयाम थपिएको बताउनुभयो । अध्यक्ष पौडेलले बालिका जन्मिएपछि बालिकालाई प्रोत्साहन होस् भनेर बीमा गरिएको बताउनुभयो । उहाँले बालिकालाई शिक्षित बनाउन र बाल विवाह रोक्नका लागि भूमिका खेल्ने बताउनुभयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उप–प्रमुख कृष्ण प्रसाद पोख्रेलले गैँडहवा गाउँपालिकामा जन्मीएका बालिकाका लागि सरकारको नीतिगत व्यवस्था तथा यस गाउँपालिका दीर्घकालीन सोचका लागि बालिका बिमा गर्न गाउँपालिकासँग सम्झौता भएको बताउनुभयो ।

बालिकाको अभिभावक बुबा वा आमाको जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बिमा भएको बताउँदै २० वर्षभित्र बालिकाको बुबा आमा दुर्घटना वा काल गतिबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिस अनुसार बालिकालाई एकमुष्ठ भुक्तानी गरिने पोख्रेलले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत गैँडहवा गाउँपालिका भित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ । रु २० हजार रुपैयाँ मात्र एकमुष्ठ एक पटकको लागि मात्र बिमा शुल्क दिइने छ । बालिकाको उमेर २० वर्षसम्म पुग्दा अविवाहित रहेको सम्बन्धित वडा कार्यालयको प्रमाणसहित गाउँपालिकाको सिफारिसको आधारमा मात्र बिमितलाई भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।

कम्पनी र पालिकाबिच भएको सम्झौता अनुसार बालिकाको एकमुष्ठ २० वर्षका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.मा गैँडहवा गाउँपालिकाले बिमा गरेको छ । यदि बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात् अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा सर्त राखिएको छ ।

आर्थिक वर्ष २०८१।८२ को बजेटमा बालिका बिमाका लागि २५ लाख बजेट बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button