तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क बाली उपचार शिविर सञ्चालन

कञ्चनपुर । बालीमा लागेका रोग तथा किरा नियन्त्रण गर्न जिल्लामा निःशुल्क घुम्ती बाली उपचार शिविर आयोजना हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय कञ्चनपुरले शिविरको आयोजना गर्न लागेको हो ।

परियोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख सञ्जु रिमाल उपाध्यायका अनुसार बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराको किसिमबारे जनाकारी लिन नमूना सङ्कलन गरी निःशुल्क परीक्षण गरिने छ । शिविर भोलिदेखि यही भदौ ३१ गतेसम्म जिल्लाका चार ठाउँमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

भदौ ३० गते बेदकोट नगरपालिकाको सुरा, बेलडाँडी गाउँपालिकाको झिलमिला, भदौ ३१ गते कृष्णपुर नगरपालिकाको गुलरिया र भीमदत्त नगरपालिका–१० मा शिविर आयोजनामार्फत नमूना सङ्कलन गरी निःशुल्क परीक्षण गरिने कार्यालय प्रमुख रिमालले बताउनुभयो ।

“शिविरमा कृषि विज्ञहरूले किसानले ल्याएका बिरुवाको परीक्षण गरी रोग तथा किरा नियन्त्रण गर्ने विधिबारे परामर्श दिनुहुनेछ”, उहाँले भन्नुभयो,  “नमूनाका आधारमा रोग पहिचान गरी समाधानका उपायबारे जानकारी दिने कार्य गर्नेछौँ ।” 

किसानले रोग किराको सङ्क्रमण भएका बिरुवा, बीउ, जरा, फलको नमूना ल्याउँदा कागजको खाम, वट्टा वा प्लास्टिकको झोलामा ल्याउनुपर्ने छ । यसैगरी, बोटमा असर गरेको भए पूरै बोट जरासहित उखेलेर ल्याउने र नमूना ल्याउँदा रोग लागेको र स्वस्थ्य भाग दुवै पर्ने गरी ल्याउन किसानलाई जानकारी गराइएको प्रमुख रिमालले बताउनुभयो । शिविरबाट किसानले रोग तथा किराबारे जानकारी पाउनुका साथै नियन्त्रण गर्ने उपाय सिक्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button