तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा लगायत सुदूरपश्चिममा अनन्ते पर्व सुरु 

बाजुरा । बाजुरा लगायत सुदूर पश्चिमका अछाम,बझाङ र डोटी जिल्लामा आज देखि अनन्ते पर्व सुरु भएको छ।

बाजुरामा दशैँ तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा मानिने अनन्ते मेला यस वर्ष असोज  २ अर्थात्  आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकै  लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरूले ३ दिनसम्म रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन्।

नेपालमा र अङ्ग्रेजहरूको  युद्धको बेलादेखि नेपालमा  अनन्ते मेलाको सुरुवात भएको र अङ्ग्रेजहरूले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्त्य होस् भन्ने उद्देश्य सहित अनन्ते मेला पर्व मनाउने चलन रहेको छ। 

 यो पर्व मनाउँदा आफूले सोचेका मनोकाँक्षा पूरा हुने स्थानीयहरूको जन विश्वास रहँदै आएको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरूले गरेको विजय प्राप्तिको खुसीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा समेत यो पर्व हरेक वर्ष मनाउने किम्बदन्ती रहेको छ ।

कतिपयले जानकारहरूले अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरेको बताउने गरेका छन् । 

अनन्ते मेला अवधिभर लाखेनाच, माँगल, पाण्डवहरूको युद्ध कौशल, लडाइँको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक संस्कृति र जिल्लाको पहिचान स्वरूप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगायत एक दर्जन बढी स्थानीय गाउँमा  ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिएको छ ।

पुरुषको पर्वका रुपमा चिनिने अनन्ते मेलामा पुरुषहरू गोल घेरामा लाम लागि हातमा काँसाका धातुबाट निर्मित मीजुरा बजाएर दुई पट्टि पालै पालो गाथा गाएर रमाइलो गर्ने गरिन्छ। 

अनन्ते मेलालाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिकाले यस वर्ष साँझ–९ बजे सम्म मात्र मेला मनाउन दिने निर्णय गरेको छ । मेलालाई भव्य बनाउन मेला अवधिवर जाँड रक्सी जस्ता मादक पदार्थ,  विक्री वितरण एवं सेवन गर्न निषेध गरिने भएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button