तपाईँ सुन्दै हुनुहुन्छः

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

हा लोङ । दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ ।
उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै भिएनएक्सप्रेसले भनेको छ, “यागीले ल्याएको केही घण्टाको भारी वर्षापछि मध्यराततिर पहिरो गई एक घरलाई पुरेको छ । घटनामा ५१ वर्षीय एक पुरुषले भागेर ज्यान बचाउन सफल भएको तर उनकी श्रीमती, छोरी र दुई नातिनातिना पुरिएका थिए।
उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रूखहरू ढालेको छ । शनिबार हुरीले घरका छानालाई उडाएर टाढाटाढासम्म पुर्याएको र हुरूका कारण भएका दुर्घटनामा चार जनाको मृत्यु भएको विपद व्यवस्थापन अधिकारीले बताएका छन् ।
हाई डुओङ प्रान्तमा शुक्रबार आएको हावाहुरीका कारण एउटा रुख ढलेर एक व्यक्तिको मृत्यु भएको थियो । बन्दरगाह शहर हाइ फोङका धेरै क्षेत्रमा आइतबार बाढीको पानी आधा मिटर (१.६ फिट) सम्म जमेको र बिजुलीको लाइन र खम्बामा क्षति पुगेको छ ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हा लोङ बेमा आइतबार बिहान भएको क्षतिको अध्ययन गर्दा मछुवाहरू स्तब्ध भएका थिए ।
स्थानीय बासिन्दाका अनुसार तुआन चाउ टापुमा रहेको हाई औ नामक डुङ्गा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ वटा डुङ्गामा गम्भीर क्षति पुगेको छ । भियतनामभन्दा  पहिले दक्षिणी चीन र फिलिपिन्समा निम्त्याएको विपत्तिमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button