तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले प्रविधिलाई आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।
निजामती सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामती सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सेवा प्रवाहलाई समयसापेक्ष चुस्तदुरुस्त बनाउनका लागि नवीनतम प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा जोड दिनुभयो ।
जनताका कामप्रति सरकार सकारात्मक तवरले प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उहाँले नहुने भएमा के कारणले नहुने हो त्यसबारे स्पष्ट पार्नुपर्ने बताउनभयो । उहाँले तल्लो तहमा काम गर्नेदेखि उच्च पदस्थ पदमा रही काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्व सबै जनताको पक्षमा भएकाले एकापसमा दोषारोपण नगरीकन जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।
सङ्घीय निजामती ऐन नआउँदा कतिपय चाहेर गर्नुपर्ने काम पनि गर्न नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशतर्फबाट गर्न सकिने सबै किसिमका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रमका सभापति एवं गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सुशासन, समृद्धि र विकास आजको आवश्यकता भएको उल्लेख गर्दै सार्वजनिक सेवामा जनताको पहुँच बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको निजामती प्रशासन राज्यका हरेक परिवर्तनलाई आत्मसात गर्दै अघि बढिरहेको बताउनुभयो । पछिल्लो समयमा निजामती प्रशासनलाई नकारात्मक तबरबाट हेर्ने क्रम बढिरहेको बताउँदै उहाँले जनताको मन जित्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनभयो ।
कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले चुस्तदुरुस्त प्रशासनका माध्यमबाट निजामती कर्मचारीप्रति बढ्दै गएको नकारात्मक धारणा हटाउनुपर्नेमा जोड दिनुभयो । निजामती सेवा दिवसका अवसरमा केन्द्रका तर्फबाट मानव सेवा आश्रम  छोरेपाटनमा आश्रित दिदीबहिनीलाई तीजको दरखाने दिनमा दर भोज खुवाउनुका साथै सरसफाई जस्ता कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व कर्मचारी परिषद्का तर्फबाट स्वास्थ्य सेवातर्फबाट निवृत्त हुनुभएकी नानु थापा लगायतलाई सम्मान गर्नुका साथै परिषद्ले प्रकाशन गरेको ‘गोधुलीको सन्देश’ लोकार्पण गरिएको थियो । त्यस्तै कर्मचारी सम्बद्ध विभिन्न सङ्घ सङ्गठनका तर्फबाट निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका विजयी तथा सहभागीलाई पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कर्मचारी सङ्घ सङ्गठनका नेताले सेवाग्राहीमैत्री सेवा प्रवाहमा जोड दिँदै राजनीतिज्ञ र कर्मचारीबिचको असल सम्बन्ध आवश्यक भएकोमा जोड दिनुभयो । सङ्घीय निजामती ऐन चाँडो ल्याएर विद्यमान समस्याको समाधान गर्नुुपर्नेमा उहाँहरूको जोड छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button