तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा १६ औँ अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइयो 

सुनसरी । प्रकृतिको कुचीकार गिद्धको संरक्षण गरौँ मुल नाराका साथ सुनसरीमा १६ औ अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइएको छ ।
विगतमा प्रकृतिको कुचीकारको रुपमा परिचित रहेको तर अहिले लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणमा जुट्नुपर्ने बेला आएको सुनसरीका सरोकारवालाहरुले बताएका हुन् ।
गिद्धको संरक्षणका लागि उसको बासस्थानको सुरक्षा र संरक्षणका लागि हातेमालो गरेर अगाडी बढ्ने बेला आएको कोशी टप्पु वन्यजन्तु आरक्षमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले पशुहरूमा प्रयोग गरिने डाइक्लोफेनक सोडियम नामक औषधी र त्यस्तै प्रकृतिका औषधी प्रयोगको कारण गिद्धहरूले त्यस्ता पशुको सिनो खादा गिद्ध मर्ने क्रम बढेको बताउनुभयो ।
सरकारले त्यस्ता प्रकृतिका औषधी प्रयोगमा निषेध गरेता पनि लुकीछिपी प्रयोग गर्दा समस्या आएको यादवले बताउनुभयो । कोशी प्रदेशमा कोशी टप्पुमा केही मात्रामा गिद्ध रहेको र अन्य ठाउँमा समेत नगन्य अवस्थामा पुगेकाले संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो ।
प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइने गरिन्छ । गिद्धको महत्व, लोप हुन लागेको र संरक्षणको प्रयासबारे जनचेतना जगाउन दिवस मनाउँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button