तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङ समुदायले मनाए न्वागी पर्व 

गोरखा । गोरखा जिल्ला लगायत धादिङ, चितवन, मकवानपुर, तनहुँ, लमजुङ लगायतका ६ वटा जिल्लाका चेपाङ समुदायले आज गोरखामा न्वागी पर्व मनाएका छन् ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका स्थित तोमनडाँडामा आयोजित कार्यक्रम नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सना, आदिवासी जनजाति महासङ्घका अध्यक्ष विष्णु रानामगर लगायतले पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
चेपाङ जातिका लागि नयाँ वर्ष सुरुवातको रुपमा लिइने यस पर्वलाई अघिल्लो दिन पितृहरूको पूजा गर्ने र दोस्रो दिन नाचगान गरेर नयाँ वर्षको रुपमा मनाउने गरिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो ।
नेपालका २६ जिल्लामा ८४ हजारको सङ्ख्यामा चेपाङ जाति रहेको उहाँको भनाई थियो । गोरखाको गण्डकी गाउँपालिकाले चेपाङ समुदायका बालबालिकाहरूलाई आवासीय रुपमा निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनुभयो । ७५० भन्दा धेरै घरधुरीमा रहेका चेपाङहरू यस पालिका भित्रका आदि पुत्रका रुपमा नदी किनारा क्षेत्रमा रहेको उहाँको भनाई थियो । यहाँ रहेका भिर पाखाहरूमा खेती गर्न सिकाउने यिनै चेपाङहरू भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button