तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता कायम

पोखरा । पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम गरिएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गर्नुभयो ।
दुवै नगरबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखराका मेयर आचार्यले बताउनुभयो । दुवै शहरका नागरिक एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गरी भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अगाडी बढाउन प्रतिबद्ध रहने उहाँले जनाउनुभयो ।
पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो, त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको मेयर आचार्यले जनाउनुभयो । पछिल्लो पटक १५ औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग नयाँ सम्बन्धको सुरुवात गरेको उहाँले जनाउनुभयो । पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्ने मेयर आचार्यले विश्वास व्यक्त गर्नुभयो । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको सङ्गम पोखरा र होकुतोबिच कायम गरिएको मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने महानगरले अपेक्षा गरेको छ ।
अन्तर्राष्ट्रिय मैत्रीभावद्धारा प्रेरित भई दुवै सहरका नागरिकहरूबिच मैत्रीपूर्ण भावनाको विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्यसहित दुई पक्षीय सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदानप्रदानलाई महत्वका साथ अगाडी बढाउने समझदारी भएको होकुतो नगरका नगर प्रमुख उएमुराले बताउनुभयो ।
पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा र होकुतो नगरबिच अनुभव आदान प्रदान र नयाँ सिकाइका लागि यो सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button