तपाईँ सुन्दै हुनुहुन्छः

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको अध्ययन अध्यापन हुने

जनकपुरधाम । मधेश प्रदेश सरकार मातहत रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्सा शास्त्रमा स्नातक) अध्ययन अध्यापनका लागि ५० वटा कोटामा भर्नाका लागि अनुमति दिएको छ ।
प्रतिष्ठानले पाएको ५० सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउने भएका छन् । मधेश प्रदेश सरकारले एमबिबिएसका लागि ३ सय बेडको अस्पताल चलाउने सैद्धान्तिक सहमति दिएपछि आयोगले भर्नाका लागि अनुमति दिएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले जानकारी दिनुभयो ।
प्रादेशिक अस्पतालमा रहेको पहिलाको १ सय बेड, अस्पताल विकास समितिको १ सय बेड र कोरोना महामारीका समयमा सञ्चालन गरेको १ सय बेडलाइ ३ सय बेडमा रूपान्तरण गरेको विश्वास आयोगलाई दिएपछि २०२५ मा चिकित्सा शास्त्रको स्नातकमा भर्ना गर्नका लागि चिकित्सा आयोगले अनुमति दिएको सचिव डा. ठाकुरले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्वाट निर्णय गरेर औपचारिक पत्र नै आयोगमा पठाएपछि एमबिबिएस अध्यापन गराएबापत प्रदेश सरकारले प्रदान गर्ने १५ करोड अनुदानको श्रोत सुनिश्चितताका लागि मन्त्रालयले अर्थ मन्त्रालय सहितका निकायबाट कुरा गर्ने भएको छ । अरू ठाउँमा संघ सरकारले नै सो रकम उपलब्ध गराउने गरेको छ ।
मधेश प्रदेशमा नै एमबिबिएसको अध्ययन अध्यापन पूर्ण छात्रवृत्तिमा हुने भएपछि यस क्षेत्रका गरिब तथा मध्यम वर्गका विद्यार्थीहरूले पनि पढ्न पाउने भएको छ । एमबिबिएसको पढाइ सुरु हुने भएपछि प्रादेशिक राजधानी जनकपुरधाममा रहेको प्रादेशिक अस्पताल सहित सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास पनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहेको छ ।
यसै बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु गराउन सफलताका साथ तयारी पूरा गरेकोमा उपकुलपति डा.अङ्कुर साह, रजिस्ट्रार डा. विनोद यादव लगायतका पदाधिकारी र कर्मचारीलाई बधाई पनि दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button