तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा आज चौरचन पर्व मनाइँदै

जनकपुरधाम । मिथिलासहित तराई मधेशका जिल्लाहरूमा नियम निष्ठा तथा श्रद्धाभक्तिपूर्वक चौठीचाँद अर्थात् चौरचन पर्व मनाईदैछ । बिहानदेखि नै घर घरमा चौरचनमा प्रसादको सामाग्रीको रुपमा प्रयोग गरिने प्रसाद सामाग्री बनाइरहेका छन् ।
यसमा प्रयोग हुने पुडुकीया, खज्र, मिठाई, गुलजामुन सहितका परिकारहरू घर घरमा बनाउनका लागि घर परिवारका सदस्यहरु लागी परेका छन् । व्रतीहरू पनि दिन भरि निराहार बसेर साँझपख चन्द्रमाको पूजा गर्ने गर्दछन् ।
शुद्ध तथा चोखो तरिकाले तयार पारिएको प्रसाद सामाग्रीहरू, फलफूल, दही सहितका अन्य सामाग्रीहरू डालामा सजाएर साझ पख आँगन गाइको गोबरले लिपपोत गरेर त्यसमा अरिपन गरी अरिपनमाथि राखी भगवान् चन्द्रमाको विधिपूर्वक पूजा गर्ने गर्दछन् ।
व्रतीले केराको पातमा खीर पुरी सहितका अन्य सामाग्री पनि भगवान् चन्द्रमालाई चढाउने चलन रहेको छ । चन्द्रमाको पूजा सम्पन्न भएपछि परिवारका हरेक सदस्यहरुले एक एक गरी हातमा लिएर भगवान् चन्द्रमाको दर्शन गर्ने चलन रहेको छ ।
सबै जनाले दर्शन गरेपछि पर्वको विसर्जन गरेर प्रसादको रुपमा वितरण गरि खाने तथा इष्टमित्रलाई खुवाउने चलन रहेको छ । आजको दिनमा भगवान् चन्द्रमाको विना फलफूल वा प्रसाद सामाग्री दर्शन गर्न नहुने धार्मिक मान्यता रहेको छ । आजको दिनमा फलफूल सहित चन्द्रमाको दर्शन गरेको खण्डमा मिथ्या आरोप नलाग्ने र कसैलाई लागेको छ भने त्यसबाट मुक्ति पाउने धार्मिक मान्यता रहेको छ । त्यसैले अधिकांशले फलफूल हातमा लिएर दर्शन गर्ने गरेका छन् ।
परिवार जनको कल्याण, सुख शान्ति तथा समृद्धिको कामना सहित प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्थी तिथिका दिन चौरचन पर्व मनाउने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button